• मंसिर १५ २०८१, शनिबार

लोसपाका सांसद अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको सजाय

मंसिर २८ २०८०, बिहीबार

काठमाडौँ । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टीबाट मधेस प्रदेशको प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाइएको छ ।

मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा बिहीबार महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको हो ।

जलेश्वर निवासी शर्मा लालबाबु राउतको मन्त्रिपरिषदमा मधेस प्रदेशको सामाजिक विकास राज्य मन्त्री पनि बनेका थिए । यही मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् । विकको हत्या भएपछि कोइरी लगायतलाई प्रतिवादी बनाई महोत्तरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो ।

कुल २८ जनालाई प्रतिवादी बनाइएकामा ७ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । अदालतले प्रदीप साहमाझी, सञ्जयकुमार साह, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको हो ।

मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका असई थमन विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर महोत्तरीको जलेश्वरमा हत्या गरिएको थियो । सोही हत्या प्रकरणमा लक्ष्मी महतो कोइरी लगायतलाई अभियुक्त बनाएर जिल्ला अदालतमा मुद्दा चलेको थियो ।