काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको संस्कृतिलाई पर्यटन, उत्पादन, रोजगारी र उद्योगसँग जोड्ने गरी रैथाने संस्कृतिको प्रवर्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।
लोकसंस्कृतिमार्फत् पुँजी निर्माण र पर्यटनको टेवा दिने लक्ष्यका साथ सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले आज आयोजना गर्ने ‘माटोको गीत’ नामक ठेट नेपाली सांस्कृतिक कार्यक्रमको आज घोषणा गर्दै मन्त्री किरातीले संविधानको मर्म र समाजवादको लक्ष्यलाई आत्मसात गर्दै भूगोल र संस्कृतिको सम्वद्र्धनसहित स्थानीय कलाकारलाई राष्ट्रियकरण गर्दै नेपालीपनको पर्यटनको विस्तार गरिने बताए ।
मन्त्री किरातीले विश्वका पाहुना नेपालमा आउँदा नेपाली संस्कृतिको प्रस्तुति हेर्न र नेपालको सांस्कृतिक तस्बिर दिमागमा लिएर जान सकून, जसले पर्यटन र रोजगारीलाई टेवा दिन सकोस् भन्ने आफूहरुको अभिप्राय भएको बताए ।
मुलुकको सांस्कृतिक नीति बनाउन कार्यदल गठन गरिएको र सोको प्रतिवेदनका आधारमा नीति र कानुन बनाई कार्यान्वयन गरिने विश्वास दिलाउँदै मन्त्री किरातीले विश्व मञ्चमा प्रभावशालीरुपमा नेपाललाई उपस्थिति जनाउन सक्ने माध्यमका रुपमा संस्कृतिलाई विकास गरिने बताए ।
हालका ५२ प्रतिशत आयोजना सफल नहुनुमा संस्कृतिमैत्री आयोजना नहुनु पनि कारण रहेको मन्त्री किरातीको भनाइ थियो । संस्थानका महाप्रबन्धक अशोककुमार राईले यही मङ्सिर २९ गते विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालबाट ठेट नेपाली सांस्कृतिक कार्यक्रमको उद्घाटन हुने जानकारी दिँदै नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने प्रस्तुति समावेश हुने कार्यक्रमलाई टिकट बेचेर साप्ताहिकरुपमा नियमित सञ्चालन गर्ने बताए ।