नयाँ दिल्ली । भारतीय संसद बैठक बसिरहेकै बेला शंकास्पद व्यक्तिले प्रवेश गरी विरोध प्रदर्शन गरेका छन् । बैठक चलिरहेकै बेला दर्शक दीर्घाबाट अचानक एकजना सांसद बस्ने कुर्सीमै खसेको भिडियो देख्न सकिन्छ । अर्का एकजना भने रेलिङबाट झुन्डिएर तल झरेका छन् ।
उनीहरूले जुत्ताभित्रबाट केही निकालेर संसद बैठकमा धुँवा धुँवा बनाउँछन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले कलर स्मोग संसद बैठकभरि फैलाउँछन् । बुधबारको संसद बैठक चलिरहेको थियो । पश्चिम बंगालका बिजेपी सांसद खानेन मुर्मु सम्बोधन गर्दैथिए । राजेन्द्र अग्रवाल सभामुखको कुर्सीमा बसेका थिए । सोही बेला ती व्यक्तिहरू बैठकमा प्रवेश गरी कलर स्मोग फैलाएका थिए । उनीहरू सभामुख बसेकै ठाउँतिर दौडेका थिए । अग्रवालले दर्शक दीर्घाबाट कोही मानिस खसेको आफूले देखेको बताए ।
‘मलाई लाग्यो ती व्यक्ति खसे होलान् तर अर्का व्यक्ति रेलिङ समातेर हाम फाल्दैथिए । त्यसपछि बल्ल लाग्यो उनीहरूले हाम फालेका हुन्,’ मिडियाँसग उनले भने, ‘लगत्तै जुत्ताबाट केही निकालेर धुँवा धुँवा बनाए ।
‘सुरक्षाकर्मीले दुवैजनालाई पक्राउ गरेका छन् । प्रहरीको अनुसन्धानबाट मात्रै कसले किन यस्ताखाले गतिविधि गरेको खुल्ने उनले बताए । तृणमुल कांग्रेसका सांसद सुदीप बंदोपाध्यायले सुरक्षामा ठूलो कमजोरी भएको बताएका छन् । ‘एकदमै भयावह अनुभव गरेँ । कसैलाई केही थाहा थिएन । उनीहरूको टार्गेट के थियो,’ उनले भने ।
त्यस्तै सांसद डिम्पल यादवले संसदमा भिजिटरका रूपमा सामान्य मानिस र पत्रकारहरूसमेत आउने गरेकाले उनीहरूमाथि विशेष निगरानी गर्नुपर्ने बताइन् । यसअघि पनि आजकै दिन सन् २००१ मा भारतीय संसदमा आक्रमण भएको थियो ।