काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले छिटै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरेका छन् । काभ्रेको पाँचखालमा प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले उक्त इच्छा व्यक्त गरेका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला भएर राम्रो कामको सुरुवात गरेको भन्दै प्रधानमन्त्री दहालले अब छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरेका हुन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्रपति महिला, प्रधानन्यायाधीश महिला, सभामुख महिला भएर राम्रो कामको सुरुवात भएको छ’, उनले भने, ‘अब एउटा बाँकी छ प्रधानमन्त्री महिला । मेरो इच्छा छ छिट्टै महिला प्रधानमन्त्री होस् । यो पटक सुशासन, सामाजिक न्याय र समृद्धिको नारा दिएर सरकार अगाडि बढेको दाबी गर्दै उनले भ्रष्टाचारको मुद्धा लाग्ने ९९ प्रतिशत पुरुष भएको तर महिला नभएको जिकिर गरे । सुशासनको पक्ष र सामाजिक न्यायको पक्षमा महिला भूमिका राम्रो भएको उनले बताए ।