• मंसिर १५ २०८१, शनिबार

सिम्रौनगढका नगर प्रमुखको गाडी तोडफोड, यस्तो छ कारण

मंसिर २७ २०८०, बुधबार

सिमरा । बाराको सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख चढ्ने गाडीमाथि तोडफोड भएको छ । बुधवार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिश्र चढेर कार्यालय जाने क्रममा गाडीमाथि तोडफोड भएको हो ।

आन्दोलनरत शिक्षक कर्मचारीहरूले नगर प्रमुखको गाडीमाथि ढुङ्गा प्रहार गरेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । सिम्रौनगढ नगरपालिकामा ५ महिनादेखि स्थानीय नगर अस्पतालमा आकस्मिक सहितका सेवा बन्द छन् भने एक सातादेखि सामूदायिक विद्यालयहरूमा पठन पाठन ठप्प छ ।

सो नगरपालिकाका वडा कार्यालयहरु पनि बन्द रहेका छन् । उक्त नगरपालिकामा कानुनी रूपमा नगरसभा सम्पन्न हुन सकेको छैन भने नगरपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले ४ देखि १४ महिनाको सेवा सुविधा पाएका छैनन् । उनीहरु दुई महिनादेखि सेवा सुविधाको माग गर्दै नगरपालिकाको मूलगेटमा धर्ना बस्दै आएका छन् ।