• मंसिर १५ २०८१, शनिबार

खोटाङबाट गोपाल किरातीसहित दर्जनौं पहिचानवादी नेता पक्राउ

मंसिर २६ २०८०, मंगलवार

काठमाडौं । एमालेको संकल्प यात्रा अभियानलाई कोशी प्रदेशमा प्रवेश रोक्ने अभियानका नेता गोपाल किरातीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केहीबेर अघि नेता किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले जानकारी दिए । ‘प्रहरीले ठाउँ–ठाउँमा बम कसले राख्यो भन्दै उहाँलाई सोधेको रहेछ’, राईले भने, ‘केहीबेरअघि उहाँसहित १ दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।’ खोटाङ र भोजपुरबाट उनीहरूलाई नियन्त्रणमा लिएको राईले जानकारी दिए ।

किरातीसहित राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत प्रहरीको नियन्त्रणमा रहेको यायोक्खाले जनाएको छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले पनि नेता किरातीलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।
‘पूर्वमन्त्रीज्यूलाई पक्राउ गरिएको होइन’, उनले भने, ‘उहाँलाई नियन्त्रणमा लिइएको हो ।’

कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दका बाबजुद एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर आइरहेको छ । अबको केहीबेरमै अध्यक्ष केपी ओलीसहितको टिम उदयपुर आइपुग्ने एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । आन्दोलनकारीले मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँमा रूख ढालेर अवरोध गरेका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई प्रवेश निषेध गर्ने भन्दै आन्दोलनकारीले अवरोध सृजना गर्न खोजिरहेका छन् ।

ओखलढुंगाको हर्कपुरमा आमसभा गर्ने र अध्यक्ष केपी ओली लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रमलाई लक्ष्य गरी प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले बन्द आह्वान गरेको छ ।