विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की चढेको गाडीमाथि पहिचानवादी कार्यकर्ताले आक्रमण गरेका छन् । मंगलबार झापामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो ।
कार्की सकुशल छन् । घटनामा संलग्नको खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोज लामाले जानकारी दिए । ढुंगा लागेर मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको उनले बताए । एउटा समूहले कालो झन्डा देखाउँदै गर्दा केही केही गति कम भएको गाडीमा अर्को समूहले अलि पर पुगेपछि ढुंगा हानेको बताइएको छ ।
पहिचानवादीबाट अवरोध हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि लागुऔषध प्रयोगकर्ता भएर जीवन बरबाद गरिरहेकालाई संरक्षण गर्ने कार्यक्रममा सहभागी हुन गएको मुख्यमन्त्री कार्कीले बताए । ‘लोकतन्त्रमा विरोध गर्नु स्वाभाविक हो । पहिचानवादीका लागि वार्ताको ढोका खुला छ,’ उनले भने ।
जनता समाजवादी पार्टीका झापा अध्यक्ष दिपेनवाला राईले आफूहरूले मुख्यमन्त्रीलाई कालोझन्डा देखाउने कार्यक्रम पहिल्यै सार्वजनिक गरेको बताए । उनले भने,‘पहिचानविरोधी कोसी प्रदेश नामकरण पारित गराउन हस्ताक्षर गर्ने सांसद र दलविरुद्ध हाम्रा पूर्वघोषित कार्यक्रमअनुरूप नै कालो झन्डा देखाएका हौँ ।’ कार्यक्रममा नआउनु भनेर आफूहरूले पहिल्यै सचेत गराएको उनको भनाइ छ ।
प्रदेश नम्बर–१ पुनः नामकरण समितिले कोसी प्रदेशको पक्षमा मतदान गर्ने ८२ सांसदलाई बहिष्कार गर्ने यसअघि नै घोषणा गरेको थियो । उनीहरू सार्वजनिक कार्यक्रममा सहभागी हुन आए प्रतिरोध गरिरहने अध्यक्ष राईले बताए ।