काठमाडौं । काठमाडौं महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ । महानगर पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ ।
यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ । खाना खान सक्दैनन् भने झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन् । त्यस्तै खोक्ने, बान्ता गर्ने, पातलो दिशा गर्ने, छारे रोगजस्तो लक्षण देखाउने, लड्बडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने यस रोगका मुख्य लक्षण हुन् ।
स्थानीयबाट आएको सूचनाका आधारमा कुकुरमा परीक्षण गर्दा रोग पुष्टि भएको प्रमुख झाको भनाइ छ । कुकुरहरुमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्छ तर कुकुरबाट मान्छेमा भने सर्दैन । कुकुरमा रोग लागेको पुष्टि भएपछि महानगरले व्यवस्थापन सुरु गरेको विभागले जनाएको छ ।
विभागका अनुसार यदि कुनै पनि सामुदायिक कुकुरमा यस्ता रोग लागेको थाहा पाएमा महानगरको निःशुल्क टेलिफोन नम्बरमा सम्पर्क १६६००१०५५११ र ११८० मा फोन गरी जानकारी दिन विभागले अनुरोध गरेको छ ।
कुकुरबाट कुकुरमा सर्ने भएकाले रोग फैलिएका ठाउँमा घरपालुवा कुकुर बाहिर नलैजान र कुकुरहरुलाई रोगविरुद्धको खोप अनिवार्य लगाउन विभागले आग्रह गरेको छ ।
महानगरले सामुदायिक कुकुरको अनियन्त्रित प्रजनन रोक्नका लागि बन्ध्याकरण प्रक्रिया पनि अघि बढाएको छ ।
आगामी पुस महिनासम्मा करिब छ हजार कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइने महानगरको भनाइ छ । हाल महानगरमा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ ।