काठमाडौं । नेपालले पाउँदै आएको वैदेशिक सहायता प्रतिबद्धतामा व्यापक गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा उक्त गिरावट आएको हो ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को असोज महिनासम्म वैदेशिक सहायता प्रतिबद्धतामा गत आर्थिक वर्षको तुलनामा ८४.१ प्रतिशतले कमी आएको छ ।
उक्त अवधिमा नेपालले १३ अर्ब ७८ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा ८६ अर्ब ४१ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको थियो ।
अघिल्लो वर्षको पहिलो तीन महिनाको तुलनामा अहिलेको सोही अवधिमा नेपालले ७२ अर्ब ६३ करोड रुपैयाँ कमको वैदेशिक आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वैदेशिक सहायतातर्फ अनुदान सहायता प्रतिबद्धता मात्र प्राप्त भएको छ ।
यो अवधिमा प्राप्त भएको अनुदान प्रतिबद्धतामध्ये शिक्षा क्षेत्रमा ५३.५ प्रतिशत, वन तथा वातावरण क्षेत्रमा ३०।६ प्रतिशत र स्वास्थ्य क्षेत्रमा २१.४ प्रतिशत छ ।
कुल अनुदान प्रतिबद्धतामा युरोपियन युनियनबाट प्राप्त प्रतिबद्धता मात्र तीन चौथाइ भन्दा बढी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।