काठमाडौं । आइतबार सेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेको छ । मौद्रिक नीतिमा लचकताको प्रभाव सेयर बजारमा उछाल आएको छ। सेयर बजार परिसूचक आइतबार ९ मिनेटमै १११.२० अंकले बढेको छ। नेप्से १९६३ अंकमा कायम भएको छ । आइतबार ९ मिनेटमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भयो ।
तेस्रो सर्किटपछि कारोबार आजका लागि बन्द भएको छ। सेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आइतबार कारोबार बन्द भएको हो।
शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा सेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरिएको थियो । लामो समयसम्म बजार घटिरहँदा राष्ट्र बैंकले लिएको यो कदमपछि लगानीकर्तामा मनोबल बढेको छ ।
यस दिन जलविद्युत् समूह सबैभन्दा धेरै ८.६ प्रतिशत बढ्यो । होटल तथा पर्यटन समूह ६.७, बैंकिङ ५.६, विकास बैंक ६.५, फाइनान्स ६.५, लगानी ६.४, जीवन बीमा ५.३, माइक्रोफाइनान्स ५.६, उत्पादन ४.८, निर्जीवन बीमा ५.२, अन्य ४.५ र ब्यापार उपसमूह ५.८ प्रतिशतले बढेका छन् ।