काठमाडौँ । नेकपा माओवादी केन्द्रका उप महासचिव वर्षमान पुनले जनतालाई चमत्कार चाहिएको तर त्यसो हुन नसक्दा निराशा बढेको समेत बताएका छन् ।
शनिबार भक्तपुरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले सोकुरा प्रष्ट पारेका हुन् । जनताले कुनै हिरो वा हिरोइन आएर देश सम्पन्न बनाउने सपना देख्दा लोकप्रियतावादले प्रश्रय पाएको र यसले जनतामा झनै निराशा बढाउने उनले बताए ।
‘नेपाली जनता सधैं सत्ताको विपक्षी जस्ता बनेका छन् । यसको फाइदा हल्लाखोरहरुले उढाइरहेका छन्’ उनले भने । सूचना प्रविधिको विकासले गर्दा जनताले विकसित देश हेरेर नेपालमा त्यस्तै हुनुपर्ने सोच राख्नु जायज भयपनि रातारात त्यस्तै परिवर्तन खोज्नु जायज नभएको उनको भनाइ छ ।
‘पञ्चायतको र बहुदलको समय भन्दा तुलनात्मक रुपले गणतन्त्रको १५ वर्षमा धेरै उपलब्धि भएपनि केही नभए जस्तो अफवाह फैलाइएको छ’ उनले भने । तथ्य र प्रमाणमा बहस नगरी भ्रम र अफवाह फैलाइएको उनले बताए । आधारभूत वर्गलाई अवसर दिने समानुपातिक समावेशीको विरोध गर्नेहरु पश्चगामी भएका तर लोकप्रिय बन्ने होडमा नेता कार्यकर्ताले प्रतिरोध नगरेका भन्दै उनले दुःख ब्यक्त गरे ।
‘आधारभूत जनताको हकहितलाई सुनिश्चित गरेर सबै तहका जनतालाई विकासमा सहभागि गराउनु पर्छ’ उनले भने ।