• मंसिर १५ २०८१, शनिबार

एनसेल काण्डमा जोडेर झुट प्रचार गरिएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयको आपत्ति

मंसिर २३ २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिवालयले तथ्य, प्रमाणबिना झुटो प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । केही दिनअघि प्रधानमन्त्री र स्वकीयसचिवको नाम एनसेल प्रकरणमा मुछेर ‘दुस्प्रचार’ गरेकामा पनि सचिवालयले आपत्ति जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालयमाथि लगाइएका त्यस्ता आरोपको पुष्टि गर्न चुनौती समेत दिएका छन् । यसै विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट झुटो प्रचार भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले यसप्रकारका दुस्प्रचारबाट भ्रमित नहुन सबैमा आग्रह गरे ।

कानुनविपरीत एनसेलको सेयर खरिद–बिक्री प्रक्रिया अघि बढाउन सक्रिय समूह गैरकानुनी कार्य रोक्न लागिपरेको सरकारविरुद्ध नै झुटो प्रचारबाजीमा उत्रिएको उनको भनाइ छ । सल्लाहकार आचार्यले सरकारले एनसेलको अवैध कार्य रोक्ने र गैरकाननुनी कार्यमा संलग्नमाथि कडा कानुनी कारबाही गर्ने स्पष्ट पारे ।