• असार ५ २०८१, मंगलवार

भविष्य सोच्नैपर्छ अमेरिकाले

मंसिर २२ २०८०, शुक्रबार

युक्रेन र इजरायललाई हतियार तथा विष्फोटक पदार्थ सहयोग गर्ने अमेरिकी सरकारको प्रस्ताव अमेरिकी संसद ‘सिनेट’ बाट अस्वीकृत भएको छ । यो प्रस्ताव अमेरिकी सिनेटले दुईतिहाइका साथ स्वीकृत गर्ला भनेर धेरैले लख काटेका थिए । तर अमेरिकी सिनेटले बदलिएको विश्व परिस्थिति आँकलन गर्न सकेको देखिन्छ । विश्व हिजोको जस्तो छैन ।

अमेरिका लगायत पश्चिमा जगतले जेजसो प्रचार प्रसार गरे पनि बाँकी विश्व जगतले स्वीकार गरिदिने अवस्था रहेन अब । अहिले विश्व महाशक्ति केन्द्रका कारण विभाजित भएको मात्र छैन, बरू आफू पनि प्रशिक्षित र ‘अप टु डेट’ हुँदै आएको छ । ‘कमनसेन्स’को युक्तियुक्त प्रयोग विश्व जगतले गर्न सक्ने अवस्थामा पुगिसकेको छ । अमेरिका लगायतका पश्चिमा तथा अन्य जगतका ‘गौरवपूर्ण’ र ‘स्वर्णिम इतिहास’ सबैले पढिसकेका र बुझिसकेका छन् ।

यसको प्रत्यक्ष प्रभाव अमेरिकी जगतमा र त्यहाँको शासनसत्तामा पनि परिसकेको छ । त्यहाँको आवधिक राष्ट्रपतीय निर्वाचन बाह्य जगतको प्रभावमा निर्णायक हुने गरिरहेको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प रसियाको प्रचार युद्धका कारण अघि आएको बारेमा अमेरिकामा बहस मात्र होइन, छानबिन समेत गरिएको थियो । ट्रम्पले घुमाउरो रूपमा यो हस्तक्षेपरूपी सहयोग यथार्थ रहेको स्वीकार गरेका थिए । त्यो पनि बारम्बार !

अहिलेका राष्ट्रपति जो बाइडन चिनियाँ छायाँमा अघि आएको ट्रम्प पक्षधर खुलेर बोलिरहेका छन् । यस्तो अवस्थामा घरेलु रूपमा अमेरिका अबका दिनमा एकमनाका साथ अघि बढ्नसक्ने अवस्था छैन । अमेरिकी प्रभाव बाहिर होइन, बाहिरी प्रभाव अमेरिकामा पर्न थालिसकेको छ ।

अबका दिनमा युक्रेन र इजरायललाई अमेरिकाले मनपरी सहयोग गरेर उचाल्न सक्दैन 

अमेरिकाको माथिल्लो सदनमा पारित गरी घोषणा गरिएको सैन्य र आर्थिक सहयोग प्याकेज सिनेटबाट अस्वीकृत हुन पुगेको छ । माथिल्लो सदनबाट ११० अर्ब डलरमध्ये ६१ अर्ब अमेरिकी डलर युक्रेनलाई सहायता दिइने भनी स्वीकृत गरिए पनि सिनेटमा विपक्षी रिपब्लिकन पार्टीका सिनेटरहरूले सरकारको प्रस्तावविरुद्ध मतदान गरेर उक्त सहयोगको प्याकेज विफल गरिदिएका छन् ।

त्यसो त अमेरिका लगायत पश्चिमी देशहरूको ढाडस्, साथ र सहयोगमा युक्रेन दुईवर्षदेखि रुसविरुद्ध युद्धमा टिकिरहेको छ । सहयोग नहुने अवस्थाको गम्भीरतालाई ध्यानमा राखी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालगायत पश्चिमा राष्ट्रको ध्यान इजरायललाई सहयोग दिनेमा मात्र केन्द्रित नरहोस् भनी बारम्बार आह्वान गरिरहेका छन् ।

उता प्यालेस्टाइनमा हमास दमनका नाममा अमेरिकालगायत पश्चिमा राष्ट्रले गरेको गोलाबारूद र हतियार सहयोगका कारण गाजापट्टी लगायतका इजरायली इलाकामा भीषण नरसंहार जारी छ । यसको मूल्य कुनै दिन यी सहयोगी राष्ट्रहरूले चुकाउनु पर्नेमा दुविधा छैन । त्यसमा पनि अति विकसित र सभ्य मानिने राष्ट्रहरूको सोच र काम मानव इतिहासमा स्वीकार्य हुन लायकको छँदैछैन ।

‘जातीय सफाया’ गरेर दुनियाँमा कसैको जित भएको र राज चलेको देखिएको छैन

अहिलेको अमेरिकी सिनेटमा सैन्य र आर्थिक सहयोगको प्याकेज अस्वीकृत वा स्वीकृत ठूलो कुरा होइन । यो कसैको हार वा जित होइन । बरू अबका दिनमा विश्व महाशक्ति अमेरिका कस्तो मानव सभ्यातामा जिउन चाहन्छ ? कुरोको चुरो यसैभित्र सन्निहित छ । वास्तविक कुरा भनेको अमेरिकाका रिपब्लिकन वा डेमोक्र्याटले यसो गरे वा उसो गरे भन्ने होइन, बरू अबको विश्वको अभिभावकत्व लिने वा छोडिदिने भन्ने हो ।

हिजोको फुटाउ र राज गर, शस्त्रास्त्रले तह लगाऊ, आफ्नालाई हतियार देऊ भन्ने सोच र व्यवहारले अबका दिनमा अमेरिका मात्र होइन, अरू जो कोही पनि अघि बढ्न सक्ने देखिदैन 

बुधबार अमेरिकी सिनेटमा भएको मतदानमा युक्रेन र इजरायललाई सहयोग गर्ने पक्षमा ४९ र विपक्षमा ५१ मत खस्यो भन्ने कुरा गरेर रिपब्लिकन र डेमोक्र्याटको आग्रह र पूर्वाग्रह वा सहयोग र असहयोगका कुरा गरेर गाला बजाउँदै सतही निष्कर्षमा पुग्नु मात्र एक्काइसौं शताब्दीको मूर्खता हुने छ । अमेरिकाले गम्भीर भविष्यप्रति दुरदृष्टि लगाउनैपर्छ ।