• मंसिर ११ २०८१, मंगलवार

अवसरको राजनीति

मंसिर २२ २०८०, शुक्रबार

राजनीतिक दलहरू अहिले अवसरको राजनीतिमा जुटेका छन् । विचार, सिद्धान्त र वचनबद्धतामा स्खलन आएपछि अबका दिनमा राजनीतिक दलहरूको खेती भनेको अवसरको खोजी हुन गएको छ । सत्ता गठबन्धन दलहरू नेपाली काङ्ग्रेस, माओवादी केन्द्र लगायत विपक्षी दल एमाले पनि अहिले अवसरकै खोजीमा छन् ।

आफूहरूले देश र जनताका लागि राम्रा कार्यक्रम ल्याउनेभन्दा पनि अरूको बदख्वाइँ गर्ने, धज्जी उडाउने र अरूको खुट्टा काटेर आफूलाई अग्लो देखाउने अभियानमा छन् सबै । नेपाली काङ्ग्रेसले प्रजातान्त्रिक समाजवादको उच्चारण गर्नै छोडिसकेको छ । प्रजातान्त्रिक समाजवाद अनुकूलका नीति निर्माण र योजना तथा कार्यक्रम ल्याउने त परै जाओस् ।

माओवादी केन्द्रले पार्टीको हैसियतले जनवादी नीति अनुककूलका कार्यक्रम सपनामा पनि देख्न छाडिसकेको छ । हाल सत्तामा रहेका बेलामा कम्तिमा पनि संविधानले निर्दिष्ट गरे अनुसार प्रजातान्त्रिक समाजवाद अनुकुलका काम कारवाही पनि अघि बढाउन सकिरहेको छैन ।

आफ्ना ५० प्रतिशत भन्दा कम कार्यकर्ताले पार्टी सदस्यता नवीकरण गरेको जोखिमपूर्ण अवस्थालाई मनन गरी नेकपा एमालले पूर्वपश्चिम शान्ति पदयात्रा तय गरेको छ । तर सत्तासिन पार्टीलाई गाली गर्नेभन्दा यो पार्टीका ठोस कार्यक्रम केही पनि छैनन् । पार्टीका खाँटी कार्यकर्ता बाहेक जनता कार्यक्रममा सहभागी हुन छाडिसकेका छन् ।

रवि लामिछानेहरूको नयाँ भन्ने पार्टीहरूका कुनै पनि स्पष्ट नीति, योजना र कार्यक्रम छैनन् । केवल हामी नयाँ हौं, हामीले भ्रष्टाचार गर्दैनौ भन्ने रटान मात्र कायम छ । यिनीहरू पुराना पार्टीलाई जनताले पत्याउन छाडे, यही अवसर खोजेर सत्तामा जाने हो भन्ने मात्र सोच रहेको देखिन्छ । नेपाल बनाउने, उँभो लगाउने र जनताका जनजीवनमा स्तरोन्नति गर्ने सोच कसैमा देखिन्न ।
यथार्थमा सबै अवसरको राजनीतिमा हाम फालेको स्पष्ट अनुभूत हुन्छ । स्वदेशी शक्ति र पहल यो अवस्थामा गुम्न पुगेको छ । सरकार बनाउने र सरकार ढलाउने शक्ति नेपाली राजनीतिक वृत्त बाहिरै रहेको देखिन्छ ।

अबका दिनमा त नेपालको राजनीति विदेशी शक्तिको इशारामा कठपुतली झैं फनफनी घुम्ने बेला सिर्जना हुँदै गएको छ । यही अवसरको सदुपयोग राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि निकै गरिरहेको छ । दुर्गा प्रसाइँको अवतार पनि यसकै प्रतिफल हो ।

त्यसैले बाहिर हेर्दा अवसरको राजनीति गरिरहेको अनुभूत भए पनि भित्री कुरा भने हरेक भ्रष्टाचारी नेताले आआफ्नो रक्षा र बचाउका लागि लागि वैदेशिक शक्तिको शरणमा परेको देखिन्छ । नेपाली जनताको जनादेश र अपेक्षा अनुकूल शासन गर्न कोही पनि तयार नरहेको आमजनतामा पनि अनुभूत भइरहेको छ ।

देशमा सङ्कट छ भनिए पनि, त्यो सङ्कट मोचनका लागि सरकारको नेतृत्व गर्न कोही पनि तयार छैनन् । सबैभन्दा ठूलो दल मानिएको नेपाली काङ्ग्रेस अहिलेको सङ्कटको अवस्थामा सरकार सम्हाल्न तयार छैन । दोस्रो ठूलो दल तथा प्रतिपक्षी नेकपा एमाले पनि स्थिति सम्हाल्ने पक्षमा छैन । काङ्ग्रेस माओवादी केन्द्रको काँधमा बन्दुक राखेर परिस्थिति जस्तो आउँछ, जताबाट आउँछ, त्यतै बन्दुक पड्काउन तयार छ । आफू सत्ता साझेदार रहने तर नेतृत्व नसम्हाल्ने पक्षमा छ ।

एमाले आफूले हामी सरकार गठन गरेर देशको समस्या समाधान गर्छौं भन्ने आँट देखाउन तयार छैन । बरू बाहिर बाहिरै छलिँदै र कराउँदै हिँड्न थालेको छ । कति बेला कसलाई उचाल्ने र कतिबेला कसलाई काँध थाप्ने भन्ने अवसरको खोजीमा मात्र रहेको छ । त्यसैले पनि होला हालका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू ‘लक्की प्रधानमन्त्री’ रहेको कुरा पटक पटक सार्वजनिक गरिरहेका छन् । उनकै भाषामा उनले प्रधानमन्त्रीको अवसर पाएका छन् ।

उनी प्रधानमन्त्री हुँदा विपक्षी दल नै नरहेर सबैले उनलाई प्रधानमन्त्री स्वीकार गरेको यथार्थता हामीबाट लुकेको छैन । राजनीतिक पार्टीहरूको हुतिहारा प्रवृत्तिले देश अबका दिनमा कुन चाहिँ विदेशी शक्तिकेन्द्रको अवसर बन्ने हो, यसले नेपालीलाई सताइरहेको छ ।

अब फेरि बदलिँदो परिस्थिति अनुसार अनुकूल हुने सोच, विचार र नीति लिएर अघि बढ्नु जरूरी छ । कठपुतली बन्ने र असरको राजनीति गर्ने सोचले नेपाल डुबाउने देखिन्छ ।