काठमाडौं । बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निणर्य गरेको छ । त्यहाँको मन्त्रिपरिषदको आर्थिक मामिला सम्बन्धी समितिको बुधबारको बैठकले नेपालबाट विद्युत् आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको हो ।
नेपालबाट खरिद हुने बिजुलीको मूल्य भने नखुलाइएको समाचारहरुमा उल्लेख छ । आगामी मन्त्रिपरिषदको सरकारी खरिद समितिको बैठकमा बिजुली खरिद मूल्यबारे छलफल हुनेछ । ३ महिनाअघि नै त्यहाँका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपालबाट जलविद्युत आयात गर्ने लगभग अन्तिम चरणमा पुगेको बताएका थिए ।
राजनीतिक र कर्मचारीको तहमा लामो छलफलपछि भारतले आफ्नो प्रसारण लाइन प्रयोग गरेर बंगलादेशलाई नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्न अनुमति दिन सहमति जनाइसकेको छ ।
बंगलादेशको पावर सेलका महानिर्देशक मोहम्मद हुसेनले भारतहुँदै नेपालबाट विद्युत आयात गर्न बहरामपुर-भेरमारा प्रसारण लाइन प्रयोग गरिने जानकारी दिएका छन् । योजना अनुसार बंगलादेशले सेवा प्रदायकको रुपमा भारतीय नोडल एजेन्सी एनटीपीसी विद्युत व्यापार निगममार्फत् नेपालबाट बिजुली आयात गर्नेछ ।
नेपालबाट बंगलादेशमा विद्युत बेच्न गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर हुनुपर्छ । एनटीपीसी भारत सरकारले नेपाल, बंगलादेश लगायतका देशहरुसँग विद्युत व्यापारका लागि तोकेको नोडल एजेन्सी हो । हाल नेपाल-भारतबीच विद्युत आयात-निर्यातको कारोबार सबै एनटीपीसीमार्फत् नै हुँदै आएको छ ।