• फाल्गुन २६ २०८२, मंगलवार

युक्रेन र इजरायललाई हतियार दिने प्रस्ताव अमेरिकी संसदमा अस्वीकृत

मंसिर २१ २०८०, बिहीबार

किएभ । युद्धरत देश युक्रेन र इजरायललाई हतियार सहयोग गर्ने अमेरिकी सरकारको प्रस्ताव संसदमा अस्वीकार भएको छ । अमेरिकाको माथिल्लो सदनमा युक्रेन र इजरायललाई घोषणा गरिएको सैन्य र आर्थिक सहयोग प्याकेज अस्वीकृत भएको हो ।

बीबीसीका अनुसार ११० अर्ब डलरमध्ये ६१ अर्ब अमेरिकी डलरको सहायता युक्रेनलाई दिइने बताइएको थियो । तर, विपक्षी रिपब्लिकन पार्टीका सिनेटरहरूले सरकारको प्रस्तावविरुद्ध मतदान गरे । रुसविरुद्ध झन्डै दुई वर्षयता युद्ध गरिरहेको युक्रेनलाई अमेरिकाले हतियार नदिए उसले रुसविरुद्धको युद्ध हार्ने अभिव्यक्ति दिइरहेको छ ।

यस्तोमा अमेरिकाले हमासविरुद्धको युद्धमा इजरायललाई पनि हतियार दिने वाचा गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा राष्ट्रको ध्यान हमास र इजरायलको युद्धमा मात्र जान नहुने र आफूलाई पनि हतियार दिनुपर्ने बारम्बार बताइरहेका छन् ।

यस्तो अवस्थामा अमेरिकी सिनेटमा सैन्य र आर्थिक सहयोगको प्याकेज अस्वीकृत भएपछि युक्रेनलाई ठूलो झट्का लागेको छ । बुधबार भएको मतदानमा युक्रेन र इजरायललाई सहयोग गर्ने पक्षमा ४९ र विपक्षमा ५१ मत खस्यो ।