काठमाडौं । एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व भएको मलेसियाली कम्पनी आजियाटा बाहिरिने विषयलाई लिएर अहिले चौतर्फी विरोध छ । अजियाटाले एनसेलमा ८० प्रतिशत सेयर भएको रेनोल्ड होल्डिङको सेयर स्पेक्ट्रलाइट यूकेलाई पाँच करोड अमेरिकी डलरमा बिक्री गर्ने सम्झौता गरिसकेको छ ।
नेपालमा कारोबार गर्ने कम्पनीले नियामक निकायबाट स्वीकृति नै नलिई अजियाटाको स्वामित्वमा रहेको अजियाटा युके इन्भेष्टेमेन्टले यो सम्झौता हो । आजियाटाले नेपालमा व्यावसायिक वातावरण नभएकोले एनसेलको आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेको प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ । तर, नेपालको अर्थ राजनीतिमा आजियाटाले गलत आक्षेप लगाएको संसदीय समितिका सदस्यहरुको निष्कर्ष छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका अधिकांश सांसदले बुधबारको बैठकमा आजियाटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को यो अभिव्यक्तिले नेपालमा वैदेशिक लगानी निरुत्साहन हुने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वणर्िम वाग्लेले ऐनसेलको सेयर बिक्रीले उजागर गरेका आर्थिक कुशासन र लगानी विकर्षणका बारे एउटा वृहत् नीतिगत समीक्षा गर्नुपर्ने आवश्यक रहेको बताए ।
यो बहसमा आजियाटा कम्पनीको सीईओलाई अर्थ समितिले पत्र काटेर बोलाउनुपर्ने पनि बताए । उसका लागि के कस्तो सहयोग चाहिने हो त्यसका लागि समितिका सदस्य तयार रहेको पनि बताए ।
‘आजियाटा कम्पनीको सीईओलाई पनि अर्थ समितिले पत्र काटोस् । त्यसका लागि के सहयोग गर्नुपर्छ, म हामी तयार छौं । किन महत्वपूणर् रह्यो भने आजियाटा ग्रुप अफ चिफ एक्जुकेटिभ अफिसर विवेक सुदले नोभेम्बर २९, २०२३ मा एउटा विज्ञप्ति जारी गर्नु भएको छ । नेपालको अर्थराजनीतिक माहोललाई इंगित गर्दै, त्यहाँ भएका च्यालेन्जेजलाई देखाउँदै एनसेलको सेयर बिक्री गर्नुपर्ने भनिएको छ,’ उनले भने, ‘यसले नेपाल राष्ट्रकै छविमा क्षति पुर्याउने सम्भावना रहन्छ । त्यसकारण उहाँलाई यही समितिमा आमन्त्रण गर्नुपर्ने निवेदन हामीले पेस गरेका हौं ।’
अर्कोतिर देशलाई प्रगतिको गतिमा अगाडि बढाउनुपर्ने चुनौती रहेको पनि वाग्लेले बताए । अर्थ मन्त्रालयको नेतृत्वमा हुन लागेको लगानी सम्मेलनलाई पनि सुदको अभिव्यक्तिले असर गर्ने उनले बताए ।
एनसेलका साझेदारीले महिना महिनामा देशका नेतालाई विदेश भ्रमणमा लगेर प्रभावमा पारेको पनि उनले बताए । अहिलेको अवस्थामा आर्थिक कुशासनको पराकास्टामा पुगेको पनि उनले बताए । एनसेललाई मात्र नभएर अन्य कम्पनीलाई पनि सहज हुनेगरी राजनीतिज्ञहरूले नै खेल्न मिल्ने गरी ग्रेएरिया राखिएको उनले बताए । यसलाई सुधार गर्नुपर्ने पनि उनको भनाइ छ । एनसेलमा ६ अर्बको मात्र नभएर ५०-६० अर्बको खेल भइरहेको हुनसक्ने उनले आशंका व्यक्त गरे । यो सबै नेपालको ऐन र कानुनमा टेकेर भइरहेको हो । अर्का सांसद विराजभक्त श्रेष्ठले आजियाटाका सीईओको अभिव्यक्तिले सार्वभौमसत्ता सम्पन नेपालप्रति जवाफदेहीता नभएको जस्तो देखिएको बताए ।
‘आजिआटाका सीइओले सार्वभौम नेपालको बारेमा जुन खालको अभिव्यक्ति दिनु भएको छ, त्यसले भोली नेपालमा लगानीको वातावरण कसरी बन्छ ? त्यस्तो खालको जवाफदेहिता नहुनु भनेको त के हो ? एकजना व्यक्तिले देशमाथि नै आक्षेप लगाएर देशमा व्यवसायिक वातावरण छैन भन्ने अभिव्यक्ति गैरजिम्मेवारपूणर् छ । यसको जिम्मेवारी कसले लिन्छ ?,’ उनले भने,‘एनसेल एउटा कम्पनी हो । भोली वातावरण बनेपछि हजारौं कम्पनी आउलान् । तर, ती कम्पनीले गर्न हुने र नहुने कुरा कहिले डिफाइन गर्छौं ?’
आज राज्य प्रणालीमा विश्वास नहुँदा पनि जनता अतिवादीको पछाडि लागेको सांसद श्रेष्ठले बताए । माओवादी केन्द्रका सांसद गंगा कार्कीले पनि नेपालमा लगानीको वातावरण छैन भनेर नेपाललाई बदनाम गर्न खोजिएको बताए ।
‘नेपालमा लगानीको वातावरण छैन भन्ने जुन कुरा आइरहेका छन्, यो अभिव्यक्तिलाई सम्बन्धित निकायले गम्भीर रूपमा लिनुपर्छ । यो अभिव्यक्तिले वैदेशिक लगानी नभित्रिने सम्भावन बढ्यो,’ उनले भने,‘अहिलेको अवस्थामा नै त वैदेशिक लगानी नभित्रिने खतरा छ । यो अभिव्यक्तिले निकै ठूलो क्षति पुर्याएको छ ।’
कांग्रेस सांसद दीपक खड्काले नेपालमा आएर अरबौं रुपैयाँ कमाउने अन्तिममा वातावरण छैन भन्नु आश्चर्यको विषय भएको बताए । कानुनमा कमजोरी भए कानुनी छिद्रा टाल्नतिर लाग्नु पर्ने खड्का बताउँछन् । लाभकर संसारमा सबैले तिर्नुपर्ने भए पनि एनसेलले नतिर्दा आफू अचम्ममा परेको बताए ।
‘लाभकर संसारमा सबैले तिर्नुपर्छ । एउटा साधारण किसानले छोराछोरी बढाउन घरजग्गा बेच्दा लाभकर तिर्नुपर्ने, अनि अर्बौ रुपैयाँ कमाउने कम्पनीले लाभकर तिर्न नपर्ने ? संसारमा यस्तो कहीँ हुन्छ ?’ उनले भने, ‘यति सजिलो किनबेच हुनसक्छ कम्पनी ? सबैलाई छरपष्ट थाहा छ । झट्ट हेर्दा अहिले अर्थतन्त्र माफियाको हातमा गएजस्तो देखिन्छ, हिजोको दिनमा हामीलाई लगानीको आवश्यकता छ, विदेशी कम्पनीहरू आएका छन्, हामीले उहाँहरूलाई चिड्याइदियौँ भने लगानीको वातावरण बन्दैन, लगानी बाहिरिन्छ भन्ने अभिव्यक्ति आउँथे । हो कि जस्तो लाग्थ्यो । तर, आज तीन कम्पनी बाहिरिँदै गर्दा खर्बौं पैसा कमाएपछि नेपालमा लगानीको वातावरण छैन भन्नुपर्ने हामीले कस्तो खालको मुलुक सञ्चालन गरिरहेका छौँ ? भन्न पनि लाज लाग्छ ।’
अहिलेको तरिकाले नचल्ने भन्दै मुलुकप्रति जिम्मेवार भएर नीतिगत सुधार गर्नुपर्ने पनि खड्काले बताए । यो एउटा एनसेलको विषयमा मात्र नभएर भोलिका दिनमा लगानीका दृिष्टले भित्र्याएका कम्पनी यसरी हिँड्दा हेर्न बाहेक केही नरहने उनले बताए । कानुनी छिद्रालाई देखिएर लगानी बाहिरिन नहुने पनि उनको भनाइ छ ।
आजियाटाले नेपाल प्रवेश गर्दा रेनोल्ड होल्डिङलाई एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर (करिब एक खर्ब ४३ करोड रुपैयाँ)मा किनेर एनसेलको स्वामित्व लिएको थियो । आजियाटाले त्यही सेयर पाँच करोड अमेरिकी डलर (करिब ६ अर्ब ६६ करोड)मा स्पेक्ट्रलाइटलाई बिक्री गरेको छ ।