• फाल्गुन ३० २०८२, शनिबार

एनसेलको रहस्यमय खरिद बिक्री छानबिन गरी कारवाही गर्छौं : प्रवक्ता सापकोटा

मंसिर २० २०८०, बुधबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी र रहस्यमय भएको बताएका छन् । गठबन्धन दल र सरकारले अध्ययन गरेर निस्कने निष्कर्ष अनुसार एनसेल खरिद विक्री प्रकरणमा कारवाही हुने उनको भनाइ छ ।

भक्तपुरमा बुधबार आयोजित सञ्चार–संवाद कार्यक्रममा प्रवक्ता सापकोटाले सत्तारुढ दलहरूले एनसेल प्रकरणलाई अस्वाभाविक मानेर एक शक्तिशाली छानबिन समिति गठन गर्ने निर्णय गरेको स्पष्ट पारे । उनले नाम नलिइकन दुर्गा प्रसाईंको आन्दोलनलाई लक्षित गर्दै भने, ‘हाल सडकमा देखिएको गतिविधि अराजक हो । यसलाई नियन्त्रण गर्न राजनीतिक दलहरू सचेत रहनु पर्दछ ।’

प्रवक्ता सापकोटाले नेपाली जनताको ठूलो त्याग र तपस्याबाट स्थापित गणतन्त्र, धर्मनिरपेक्ष, संघीयता र समानुपातिक पद्धति लोकतन्त्रको चार स्तम्भ भएकाले यसलाई कसैले हल्लाउँदैमा नहल्ने बताए ।

उनले भने, ‘इतिहासको चक्का किमार्थ पछाडि फर्किंदैन, फर्केको हेर्न पनि चाहन्न, लोकतन्त्रलाई विस्थापित गर्छु भनेर लाग्नु मृगतृष्णा हो ।’ पूर्वसभामुख समेत रहेका सापकोटाले नेपाली जनताले वर्तमान गणतान्त्रिक व्यवस्थामाथि कुनै सवाल उठाएको नभई सेवा र आर्थिक विकासको विकासमा असन्तुष्टि पोखेको र ती असन्तुष्टिलाई सम्बोधन गर्न सरकार राजनीतिक दलहरू कृतसंकल्पित रहेको उल्लेख गरे ।