काठमाडौँ । कांग्रेस नेता डा. शेखर कोइरालाले राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल शेयर विक्री भएको दाबी गरेका छन् । नेपाली कांग्रेसको ओखलढुङ्गा जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै नेता कोइरालाले नेता, कर्मचारी र व्यापारीहरूको मिलेमतोबिना एनसेलको सेयर विक्री सम्भव नभएको बताएका हुन् ।
‘अहिले एनसेलन सेयर विक्रीको कुरा आएको छ । राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतोबिना एनसेल शेयर विक्री हुन सक्दैन’, यसलाई कांग्रेसले गम्भीर रुपमा लिएको भन्दै कोइरालाले भने,‘यसबारे हामी संसदमा पनि कुरा उठाउँछौ ।’
नेता कोइरालाले नेपालमा भ्रष्टाचार निर्मूल गर्नुपर्ने आवश्यकता रहेको भन्दै देश परिवर्तन गर्न नेपाली कांग्रेस परिवर्तन गर्न जरुरी रहेको पनि बताए । कार्यक्रममा महामन्त्री गगन थापाले कांग्रेसले अहिले काम गर्ने बेला भएको भन्दै मिसन ८४ बाट आत्तिन नपर्ने बताए । साथै उनले सरकारमा रहेका नेताहरूले बोल्नेभन्दा बढी काममा ध्यान दिनुपर्ने बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले एमालेबाट मुख्यमन्त्री खोसेर ल्याएको भन्दै आफूले कांग्रेसको शिर निहुरिन नदिने दाबी गरे ।