काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेताहरुले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको बताएका छन् । व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका नेताहरुले मुलुकको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको उनले बताए ।
‘व्यवस्था परिवर्तनमा तपाईंहरूको महत्वपूर्ण योगदान रह्यो तर समृद्धिका लागि तपाईंहरुले राम्रो काम गर्न सक्नु भएन । अब समृद्धिको खाका हामीसँग छन् भनेर युवा पुस्ताले हस्तक्षेप गर्नुपर्यो,’ उनले भने । बाल क्लबका पूर्वसदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले युवा पुस्तालाई मुलुकको सुशासन र समृद्धिको लागि संघर्ष गर्न पनि आग्रह गरेका थिए । अघिल्लो पुस्ताका नेताहरुले व्यवस्था परिवर्तनका लागि गरेको संघर्षप्रति उनले धन्यवाद दिएका थिए ।
‘युवा पुस्ताले मुलुकको सुशासन र समृद्धिको खाकासहित राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।
युवाहरू विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताए ।
देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरू दृढ अठोटका साथ अघि बढनुपर्ने उनले बताए ।