• फाल्गुन २६ २०८२, मंगलवार

माल्दिभ्सका नयाँ राष्ट्रपति मइज्जु आफ्नो देशबाट भारतीय सेना हटाउन सफल

मंसिर १८ २०८०, सोमबार

माले । माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट भारतीय सेना फिर्ता हुने बताएका छन् । राष्ट्रपति मोहम्मद मइज्जुका अनुसार भारत आफ्ना सेना फिर्ता गर्न तयार भएको छ ।

राष्ट्रपति निर्वाचनअघि नै उनले भारतीय सेना फिर्ता गराउने वाचा गरेका थिए । ‘भारत आउट’ को नारा उनको चुनावी एजेन्डा नै थियो । भारतीय सेना स्वदेश फर्किए पनि मइज्जुले भारतीय सेनाको स्थानमा चिनियाँ सैनिक तैनाथ गरेर क्षेत्रीय सन्तुलनलाई बिगार्ने आफ्नो मनसाय नरहेको स्पष्ट पारेका छन् ।

भ्रष्टाचारको आरोपमा कारागारमा रहेका चीन समर्थक पूर्वराष्ट्रपतिको अप्रत्यक्ष सहयोगमा मइज्जु गत सेप्टेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएका थिए । ‘भारत सरकारसँगको शृङ्खलाबद्ध रचनात्मक बैठक र संवादपछि भारतीय सैनिक फिर्ता गर्ने सहमति भएको छ,’ आइतबार राति राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

समुद्री क्षेत्रमा गस्ती गर्ने तीनवटा उपहारप्राप्त विमान सञ्चालन गर्नका लागि भारतीय सैनिकहरू मादिभ्समा तैनाथ छन् । प्राचीन सेतो समुद्री तट र एकान्त रिसोर्टहरूका साथ मुख्य रूपमा दक्षिण एसियाको सबैभन्दा महँगो बिदा मनाउने स्थलहरूमध्येको एकका रूपमा चिनिने माल्दिभ्स भूराजनीतिक ‘हटस्पट’ बनेको छ । विश्वव्यापी पूर्व–पश्चिम ढुवानी बाटाहरूले भूमध्य रेखा पार गरी आठ सय किलोमिटर फैलिएको माल्दिभ्सको एक हजार एक सय ९२ साना कोरल टापुहरूको शृङ्खलालाई पार गर्दछन् ।

राष्ट्रपति मइज्जुको कार्यालयले भारतीय सैनिकहरूको फिर्ताको सम्झौता ‘प्राविधिक स्तरमा प्रगतिमा रहेको’ जनाएको छ । आफ्नो माटोमा विदेशी सैन्य उपस्थितिको अनुपस्थिति सुनिश्चित गर्नका लागि प्राथमिक रूपमा कूटनीतिक च्यानलहरू प्रयोग गर्ने आफ्नो प्रतिबद्धतामाथि जोड दिइएको विज्ञप्तिमा उल्लेख छ ।

माल्दिभ्सले भारतीय सेना फिर्ताका लागि कुनै समयसीमा दिएको छैन र सोमबार नयाँ दिल्लीबाट पनि तत्काल कुनै प्रतिक्रिया आएको छैन । दुबईमा संयुक्त राष्ट्रसङ्घीय कोप २८ सम्मेलनका अवसरमा राष्ट्रपति मुइज्जु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको एक बैठकपछि यस्तो सहमति भएको हो ।

माल्दिभ्सले भनेको छ, ‘दुवै नेता माल्दिभ्समा जारी विकास परियोजनाहरूसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गर्न समन्वय गर्ने प्रयासका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत हुनुभएको छ ।’