काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीले पोखरा थन्डर्ससँगको हार टारेको छ ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा झापाले अन्तिम समयमा गोल फर्काएर हार टारेको हो । खेलमा पोखराले १९औं मिनेटमा मोसेस ग्याबहको गोलमा अग्रता लिएको थियो ।
जोय एइडुले डी बक्सभन्दा धेरै बाहिरबाट दिएको पास मोसेले १२ यार्डबाट हेडमार्फत् प्रहार गरेका थिए, जसलाई झापाका गोलकिपर स्टेफनले रोक्न सकेनन् । तर खेलको ९० मिनेटपछि थपिएको ८ मिनेटको अन्तिम समयमा झापाका समादर ओचिलोभले गोल गरेर खेल बराबरीमा ल्याएका थिए । शनिबारको खेल बराबरीपछि झापाले एनएसएलमा एक अंक जोडेको छ । पहिलो खेल जितेको पोखराले भने ४ अंक बनाएको छ ।
शनिबारको खेलको ९०औं मिनेटमा कमलबहादुर थापाले रातो कार्ड पाएपछि पोखरा १० खेलाडीमा सीमित भएको थियो । खेलको अन्तिम समयमा पोखराका प्रशिक्षक नविन न्यौपानेले पनि रातो कार्ड पाए ।
खेलको म्यान अफ दि म्याच पोखराका सुरजज्यू ठकुरी घोषित भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए । शनिबारको खेलमा फ्यान अफ द म्याचका रुपमा दर्शकलाई पनि पुरस्कृत गरिएको छ । कमलप्रसाद निरौलाले ५ हजार पुरस्कार पाए ।