• मंसिर १५ २०८१, शनिबार

रवि लामिछानेद्वारा आफ्नो पार्टी समावेशी नभएको स्वीकार

मंसिर १५ २०८०, शुक्रबार

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी असमावेशी देखिएको छ । लामिछानेले पनि आफ्नो पार्टी समावेशी नभएको स्वीकारेका छन् । खस–आर्य समुदायको बाहुल्य भएको दल भएको भन्दै यसलाई उनले कमजोरी भनेका छन् ।

मधेशको जलेश्वरमा भएको पार्टी केन्द्रीय समिति र संसदीय दलको बैठकमा लामिछानेले पेस गरेको राजनीतिक प्रतिवेदनमै उल्लेख छ, ‘समावेशितालाई व्यवहारमा लागू गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हो ।’

रविले आगामी दिनमा पार्टीमा यस्तो कमजोरी हुन नदिने प्रतिबद्धता जनाए । जानेर वा नजानेर समावेशितालाई उपेक्षा गर्ने कार्यले लोकतन्त्रको उपहास गर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘आगामी दिनमा यस्तो कमजोरी नहुने प्रतिबद्धता म सबै साथीहरूबाट चाहन्छु ।’

रवि नेतृत्वको रास्वपाको पदाधिकारीदेखि संसदीय दल, केन्द्रीय समितिहुँदै वडा तहसम्मकै पार्टी संरचनामा खस र आर्य समुदायको एकल वर्चस्व छ तर, राजनीतिक प्रतिवेदनमा पार्टी असमावेशी भएको भन्दाभन्दै फेरि उनले छनोट गरेका पदाधिकारीमा खस आर्य समुदायको एकल वर्चस्वलाई कायमै राखेका छन् ।

१२ जना पदाधिकारी रहेको रास्वपामा खस र आर्य समुदायका सभापति रवि लामिछाने, उपसभापतिहरू डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री मुलुक ढकाल, सहमहामन्त्रीहरू कवीन्द्र बुर्लाकोटी र विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष दीपका बोहरा, सहप्रवक्ताहरू रमेश प्रसाईं र प्रतिमा रावल गरी नौ जना छन् ।

यो संख्या पदाधिकारीमा खस र आर्य समुदायको सहभागिता ७५ प्रतिशत हो । फेरि, पदाधिकारीमध्ये पनि मुख्य पदीय भूमिकामा खस आर्य समुदायकै प्रतिनिधित्व छ । आदिवासी जनजाति समुदायकी सुमना श्रेष्ठ सहमहामन्त्री र बसुमाया तामाङ सहकोषाध्यक्ष छन् । मधेशी समुदायका मनिष झा सहप्रवक्ता छन् । खस र आर्यबाहेकका समुदायको रास्वपाको पदाधिकारीमा २५ प्रतिशत छ ।

दलित, थारु र मुस्लिमको प्रतिनिधित्व शून्य छ । जब कि, नेपाली समाजको चरित्र समावेशी खालको छ । सोही अनुसार राज्यसत्तादेखि हरेक संरचनामा समावेशी प्रणाली अनुसार समुदायगत प्रतिनिधित्वलाई संविधानले सुनिश्चित गरेको छ । तर, रवि नेतृत्वको दल रास्वपाले पनि व्यावहारिक रूपमा समावेशितालाई अस्वीकार गरेको देखिएको हो ।