काठमाडौं । गाजामा हमासको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयले दक्षिणी गाजामा धेरै हवाई हमला गरिएको जनाएको छ । मन्त्रालयले टेलिग्राममार्फत् यो जानकारी दिएको हो । उत्तरी गाजामा पनि धेरै विस्फोटको आवाज सुनिएको बताइएको छ । गाजा सहरको उत्तरपश्चिममा पनि गोलीबारी भएको छ ।
हमास र इजरायलबीचको युद्धविराम सम्झौताको बिहीबार सातौं दिन थियो । आजबाट सम्झौता सकिएको छ । सम्झौता सकिएलगत्तै हवाई आक्रमण सुरु भएको हो । यो युद्धविराम अगाडि बढ्ने आशा थियो । अमेरिका, कतार र इजिप्टले निरन्तर मध्यस्थता गर्दै आए पनि यो सम्झौता अगाडि बढ्न सकेन ।
गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो । सात दिनसम्म चलेको यस सम्झौतामा बिहीबारसम्म हमासले ११० जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ ।