• मंसिर १५ २०८१, शनिबार

रास्वपाद्वारा उदार आर्थिक नीतिमा आधारित लोकतान्त्रिक दल भएको घोषणा

मंसिर १३ २०८०, बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई लोकतान्त्रिक पार्टी घोषणा गरेको छ । स्थापनादेखि अहिलेसम्म कुन विचार लिने भनेर स्पष्ट नभएको रास्वपाले महोत्तरीको गौशाला बैठकबाट विधानको प्रस्तावना पारित गर्दै आफूलाई लोकतान्त्रिक दल घोषणा गरेको हो ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो,’ रास्वपाले पारित गरेको प्रस्तावनामा भनिएको छ,‘यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्णलोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।’

उसले लोकल्याणकारी राज्यको लागि सार्वजनिक, निजी र सामुदायिक स्रोतको दिगो परिचालनमार्फत् सामाजिक बजार अर्थतन्त्रमार्फत् रोजगार वृद्धिको लक्ष्य सार्वजनिक गरेको छ । स्थापनादेखि नै पार्टीको वैचारिक धार संवैधानिक समाजवाद भन्ने गरेको रास्वपालाई कुन विचार बोक्ने प्रश्न उठिरहेका थियो । विभिन्न पार्टीगत धारबाट आएकाहरुबाट बनेको रास्वपालाई लोकतान्त्रिक वा समाजवादी धारमा हिँडाउने भन्ने घर्षण पार्टीभित्र पनि रहँदै आएको थियो ।

नेता सन्तोष परियारसहितको एउटा टिमले पार्टीलाई समाजवादी धारमा लैजान मेहनत गरिरहेको थियो भने विराजभक्त श्रेष्ठ, शिशिर खनाल, मनिश झासहितले लोकतान्त्रिक धारमा लैजान मेहनत गरिरहेका थिए । पार्टी सभापति रवि लामिछाने भने राजनीतिक विचारमा आफू धेरै नलाग्ने भन्दै नेपालको परम्परागत धारका पक्षमा उभिँदै आएका थिए । तर, अर्थविद डा. स्वर्णिम वाग्लेको प्रवेशसँगै रास्वपामा लोकतान्त्रिक धारको समर्थन पनि बढेको र वैचारिक झुकावमा पनि दबाब बढेको थियो ।

त्यही कारण चिनियाँ राजनीतिक मोडलबाट प्रभावित महामन्त्री मुकुल ढकालले तयार पारेको राजनीतिक दस्तावेज पारित नगरी नयाँ दस्तावेज रास्वपाले पारित गर्दै आफूलाई लोकतान्त्रिक धारमा उभ्याएको हो ।