• मंसिर १५ २०८१, शनिबार

स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने रास्वपाको तयारी

मंसिर १२ २०८०, मंगलवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरेको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ ।

त्यही अनुसार नै वैशाख १० को उपनिर्वाचनमा तनहुँ–१ बाट निर्वाचित सांसद वाग्लेलाई उपसभापति बनाउन लागिएको एक नेताले जानकारी दिए ।

उनका अनुसार अहिले महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमै उनलाई उपसभापति बनाउने तयारी छ । त्यस्तै, रास्वपाले ११ जना केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ । रास्वपाको अहिले ३९ सदस्यीय केन्द्रीय समिति छ । त्यसमा मोहनबहादुर थापाले ढाकाकुमार श्रेष्ठको २ करोडको अडिओ प्रकरणमा नाम मुछिएकाले राजीनामा दिएका छन् ।

विधानको धारा २३ अनुसार रास्वपाले १२१ सदस्यीय केन्द्रीय समिति बनाउन सक्नेछ ।
त्यस्तै, विधानको धारा २५ मा सभापतिसहित ११ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । जसमा सभापति १, उपसभापति २, महामन्त्री १, सहमहामन्त्री २, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता १ रहने विधानमा व्यवस्था छ । अहिले रास्वपाको उपसभापति डोलप्रसाद अर्याल छन् । रास्वपाका २० सांसदमध्ये ६ जना मात्रै केन्द्रीय समिति छन् । सांसदमध्ये केहीलाई केन्द्रीय समितिमा मनोनीत गर्ने रास्वपाको तयारी छ ।