• मंसिर १३ २०८१, बिहीबार

विजुलीको पैसा नतिरेका कारण लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको लाइन काटियो

मंसिर १२ २०८०, मंगलवार

भालुबाङ । विद्युत महसुल बापतको करिब पौने तीन लाख रुपैयाँ बक्यौता नबुझाएको भन्दै लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको विद्युत लाइन काटिएको छ । एक वर्ष अगाडि बुटवलमा मन्त्रालय रहेको बेला विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण लमही शाखाले दाङको राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत लाइन काटिदिएको हो ।

मन्त्रालयका सूचना अधिकारी अमरबहादुर वलीले बुटवलमा सामाजिक विकास मन्त्रालय मातहत रहेको बेला स्वास्थ्य मन्त्रालयको नाममा जडान गरिएको विद्युत मिटरको महसुल नबुझाएको भन्दै मंसिर ६ गते लाइन काटिदिएको जानकारी दिए ।
‘बुटवलमा सामाजिक विकास मन्त्रालय रहेको बेला विद्युत महसुल बुझाउन बाँकी रहेछ, मन्त्रालय दाङमा सरेपछि बुटवलबाट लेखा शाखामा पत्र पनि आएको रहेछ मंसिर ६ गते भने लमहीबाट प्राधिकरणका प्राविधिक आएर लाइन काटिदिनुभयो,’ वलीले भने । वलीका अनुसार मन्त्रालयले विद्युत प्राधिकरण बुटवल शाखालाई दुई लाख ७२ हजार दुई सय ६४ रुपैयाँ ४४ पैसा भुक्तानी गर्न बाँकी छ । लाइन काटिएपछि बक्यौता रकम बुझाएर लाइन जोड्ने तयारी भइरहेको वलीले बताए ।
‘बुझाउन बाँकी रहेको पुरानो महसुल बुझाएर लाइन जोड्ने तयारीमा छौं, मन्त्रालयका सचिवज्यू पनि काठमाडौं हुनुहुन्थ्यो, मन्त्रालय आइपुग्नुभएको छ । आज नै बक्यौता बुझाएर आज नै लाइन जोडिन्छ होला,’ उनले भने ।
नेपाल विद्युत प्राधिकरण लमही शाखाले प्राधिकरण बुटवल शाखाबाट मन्त्रालयले बक्यौता नबुझाएकोले लाइन काट्न पत्र पठाएपछि लाइन काटिएको बताएको छ ।

विद्युत बक्यौता बुझाउन मन्त्रालयलाई पटकपटक पत्र पठाए पनि अटेर गरेपछि बाध्य भएर लाइन काट्नुपरेको प्राधिकरण बुटवल शाखाले जनाएको छ । प्राधिकरण बुटवल शाखाका इञ्जिनियर विनोद शर्माले मन्त्रालय बुटवलमै रहेको बखतको विद्युत महसुल मन्त्रालय दाङ गएको झण्डै एक वर्षसम्म पनि नबुझाएपछि बाध्य भएर लाइन काट्नु परेको बताए । मन्त्रालयमा विद्युत लाइन काटिएपछि स्वास्थ्य मन्त्रालय विद्युतविहीन भएको छ ।

विद्युत लाइन काटिएको एक सातासम्म पनि बक्यौता नबुझाउँदा मन्त्रालय विद्युतविहीन भएको छ । विद्युत काटिएपछि मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावित बनेको सूचना अधिकारी वलीले बताए ।