काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ जारी छ। गत सातादेखि सुरु भएको सुनुवाइअन्तर्गत निवेदकका कानुन व्यवसायीले बहस गरिरहेका छन्।
आज (मंगलबार) पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीका कानुन व्यवसायीले बहस गर्दैछन्। त्यसअघि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणका कानुन व्यवसायीले सोमबार बहस सक्काएका थिए।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका तथा अन्य देश पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर ठगी प्रकरणमा रायमाझी प्रतिवादी छन्। गत असार १ गते काठमाडौं जिल्ला अदालतले थुनछेक आदेश सुनाउँदै रायमाझीसहितका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
रायमाझीविरुद्ध ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको लगायतका अभियोग छन्। उक्त ठगी प्रकरणमा अनुसन्धान सुरु भएपछि फरार भएका रायमाझीलाई प्रहरीले गत वैशाख ३१ गते, आइतबार काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो।