काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचारको मामिलामा माओवादी केन्द्र निकै पछि परेको स्वीकार गरेका छन् ।
सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वेबसाइट उद्घाटन गर्दै उनले प्रविधिमैत्री पार्टी निर्माण हुन नसक्दा जनतालाई सचेत बनाउन, जनमत सिर्जना गर्न नसकेको स्वीकार गरेका हुन् ।
‘चुनावमा लाखौं खर्च गर्न तयार भयौँ तर आइटी क्षेत्रमा प्रयोग गर्न दाँतबाट पसिना आयो । चुनावमा गरेको खर्चले पार्टीले केही फाइदा भएन । त्यसैलाई विचार गरेर केन्द्रीय समितिले निणर्यबाट आइसिटी फोरम बनाएको हो’, उनले भने ।
परम्परागत ढंगले प्रविधिसँग प्रतिस्पर्धा गर्न नसक्ने युगमा आइपुगेको भन्दै सामाजिक संजाललाई सचेततापूर्वक प्रयोग गर्नुपर्ने उनले बताए । सामाजिक संजालले हिरोलाई भिलेन र भिलेनलाई हिरो बनाउन सक्ने भएकाले यसको सकारात्मक रुपमा प्रयोग गर्नुपर्ने उनले अनुभव सुनाए ।
प्रधानमन्त्री प्रचण्डले वेबसाइटमार्फत् माओवादीलाई संसारभर चिनाउन आइटी क्षेत्रमा कार्यरत प्राविधिकहरूले मेहनत गर्नुपर्ने बताए । साथै बिस्तारै वेबसाइटमा सबै कमिटीलाई समेटेर लैजाने उनले बताए ।