काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महसुस गरेको बताएका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौँ स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउने कुरा मुस्किल हुने बताए ।
भारतमा संगठन हुनुको कारणले नै आफूहरुले भूमिगत रुपबाट धेरै सहयोग प्राप्त गरेको उनले बताए । कार्यकर्तादेखि लड्ने योद्धाहरुसमेत भारतबाट पाएको बताउँदै उनले भारतमा भएका लाखौँ नेपालीहरुलाई संगठित र आन्दोलित गर्ने कुराको भूमिका स्व.पाख्रिनले गरेको बताए ।
भारतमा संगठन बिस्तार गर्न राजनीतिक नेताहरुको भन्दा पाख्रिन जस्ता सांस्कृतिककर्मीहरुको भूमिका बढी महत्वपूणर् रहेको उनले बताए ।
उनले भने, ‘कार्यकर्ता प्राप्त गर्यौँ, लड्ने योद्धाहरु सिधै आएर फौजी मोर्चामा जाने र आउनेहरु पनि भयो । सबै सबै धेरै किसिमका प्राविधिकदेखि सेक्युरिटीसम्म सबै विषयमा इन्डियामा भएका लाखौँ नेपालीहरुलाई संगठित र आन्दोलित गर्ने कुराको भूमिका रह्यो ।’ प्रधानमन्त्रीले पाख्रिनको स्मृति ग्रन्थले भावि पुस्तालाई उनको योगदानको बारेमा बुझाउने विश्वास व्यक्त गरे ।