प्योङयाङ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले विश्वको कुनैपनि ठाउँमा आक्रमण गर्न सक्षम भएको दाबी गरेका छन् ।
उनले देशमै बसेर विश्वको जुनसुकै स्थानमा आक्रमण गर्न आफूहरू सक्षम भएको बताएका हुन् । मंगलबार राति उत्तर कोरिया जासुसी भूउपग्रह प्रक्षेपण गर्न सफल भएपछि किमको पछिल्लो अभिव्यक्ति आएको हो ।
बीबीसीका अनुसार किमले भनेका छन्, ‘जासुसी उपग्रहका कारण हाम्रो देश अन्तरिक्ष विज्ञानको नयाँ युगमा प्रवेश गरेको छ, यो अभियान आन्मरक्षाका लागि मात्र हो ।’ तर अमेरिकाले भने उत्तर कोरियाको भूउपग्रह कार्यक्रमलाई परमाणु हतियारको कार्यक्रमसँग तुलना गरेको छ । रुसले हालै उत्तर कोरियालाई भूउपग्रह विकासमा सहयोग पुर्याउने बताएपछि अमेरिकाले उत्तर कोरिया र रुसले परमाणु हतियार बनाइरहेको आरोप लगाएको थियो । भूउपग्रह प्रविधि र परमाणु क्षमताको ब्यालिस्टिक क्षेप्यास्त्रमा उस्तैखाले प्रविधि प्रयोग हुने भएपछि अमेरिका चिन्तित छ ।
यस्तोमा किमले भूउपग्रह कार्यक्रम सफल भएपछि नै आफ्नो देश विश्वभर आक्रमण गर्न सक्षम भएको बताइरहँदा उक्त जासुसी भूउपग्रहमा हतियार त लुकाइएको छैन भन्ने पनि शंका उब्जिएको छ । त्यसो त यसअघि नै उत्तर कोरियासँग अमेरिकासम्मै पुगेर आक्रमण गर्नसक्ने अन्तरमहादेशीय क्षेप्यास्त्र पनि छ ।