काठमाडौं । बिहीबारको प्रदर्शनपछि पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाईंले आफूहरूले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् । आज बल्खुमा प्रदर्शन गरेको उनको समूहले भोलिदेखि भने तीनकुनेमा जम्मा भएर प्रदर्शन गर्ने उनको भनाइ छ ।
प्रशासनले आफूहरूको आन्दोलनलाई लक्षित गरी निषेधाज्ञा लगाए पनि आन्दोलन नरोकिने बताए । ‘त्यस्ता निषेधाज्ञाले केही हुनेवाला छैन,’ उनले भने । आफूहरूले व्यवस्था परिवर्तनका लागि आन्दोलन गरेको जिकिर गर्दै उनले त्यसो नभएसम्म आन्दोलन जारी रहने बताए ।
पत्रकार सम्मेलनका क्रममा उनले लघुवित्तबाट पीडित भएकाहरूको प्रसँग पुनः उठाए । उनी एमाले र अध्यक्ष केपी ओलीविरुद्ध पनि खनिए । आन्दोलनका क्रममा प्रहरीले आफूहरूमाथि दमन गरेको प्रसाईंले दाबी गरे । त्यस्तै, सरकारले नेटवर्क बन्द गरेको गुनासो पनि गरे । आजको प्रदर्शनका क्रममा आफ्नो समूहका २६ जना घाइते भएको प्रसाईंको भनाई छ । त्यसमध्ये एक जनाको स्थिति चिन्ताजनक रहेको उनले बताए ।
‘नेताहरूले गरिबमाथि लाठी बर्साए,’ प्रसाईंले भने ।
काठमाडौं बन्दको घोषणा गरेको भन्ने प्रश्नमा उनले आफूहरूले बन्दको कार्यक्रम नराखेको बताए । बरु व्यापारीहरू नै पसल बन्द गरेर आफूहरूको आन्दोलनमा आउने दाबी गरे उनले । आजदेखि काठमाडौंमा आन्दोलन भए पनि शनिबारदेखि भने ७७ वटै जिल्लामा आन्दोलन हुने उनको दाबी छ ।
अब आफूहरूको आन्दोलन श्रीलंकाको मोडेलमा अगाडि बढ्ने पनि भने प्रसाईंले । अब नेताहरूको घरघरमा जाने खुला चेतावनी दिए उनले ।