काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले डिजिटल प्रविधिको विकाससँगै पुस्तकालयमा पुस्तक पढ्नेहरूको कमी हुँदै गएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर महर्जनले उक्त कुरा बताएका हुन् ।
उनका अनुसार पुस्तकालयमा गएर पुस्तक पढ्ने परम्परालाई डिजिटल प्रविधिले परिमार्जन गर्दै लगेको छ । ‘सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट अध्ययनको लागि आवश्यक पुस्तकहरू पाइन्छ । जसले गर्दा पछिल्लो समय पुस्तकालयमा पुस्तक पढ्ने मानिसहरू कम हुँदै गएको महशुस भएको छ,’ उनले उदाहरण दिँदै भने, ‘केही समय पहिला गोरखापत्र र कान्तिपुर पढ्न नपाउँदा निन्द्रा नलाग्ने मानिसहरू धेरै थिए । अहिले त्यो समय परिवर्तन भएको छ । पत्रिका पढ्न नपाएको भन्ने कमै छन् ।’
पत्रपत्रिकाको जस्तै पुस्तकमा पनि असर परेको छ । त्यसैले महानगरभित्रका पुस्तकालयहरू पुनः जागरण ल्याउने काम भइरहेको उनले बताए ।
‘पुस्तक अध्ययन गर्ने परम्परा पनि प्रविधिमैत्री भइरहेको अवस्थामा पुस्तकको नाम तोकेर नै अध्ययन गर्ने भनेर आउनेहरू कम छन्,’ उनले भने, ‘तर ललितपुर महानगरपालिकाले नगरभित्र रहेका पुस्तकालयलाई पुनः जागरण ल्याउने काम गरिरहेका छौं । पुस्तकालय बनाउने विषयमा महानगरको प्राथमिकतामा छ ।’