• फाल्गुन ३० २०८२, शनिबार

ओली र बस्नेतलाई प्रसाईंको चेतावनी,‘दुर्गा प्रसाईंको अनुमति लिएर मात्रै भक्तपुर प्रवेश गर्नु’

मंसिर ६ २०८०, बुधबार

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौँ आएको बताएका छन् । बिहीबार काठमाडौँमा हुने कार्यक्रममा भाग लिन काठमाडौँ आएका उनले भक्तपुरमा पत्रकार सम्मेलन गरी आन्दोलन सफल नभएसम्म घर नफर्किने उनले बताए । यस्तै ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको उनको जिकिर छ ।

‘ओलीको कम्युनिस्ट सिद्धान्त गएको छ । अब कसरी मुख देखाउनुहुन्छ ? हजुरबुवा झापा जाँदा कसरी मुख देखाउनु हुन्छ ? अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईंसँग अनुमति लिनुपर्छ’, उनले चेतावनी दिए ।

यसैगरी युवासंघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोजेको उनले आरोप लगाए । उनले महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्य प्रसाशन मौन भएकोमा आपत्ति जनाए । ओली र बस्नेतलाई चेतावनी दिँदै मित्रवत व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठुलो मूल्य चुकाउने उनले चेतावनी दिए ।

‘हाम्रो अभियान दबाउन धेरै लगानी गरेका छन् । हामीसँग पैसा नभए पनि हामीसँग धेरै मानिस छन् । कि जेल जान्छु कि मर्छु भनेर काठमाडौँ आएको हुँ’, उनले भने, ‘आन्दोलन सफल नभएसम्म रोकिँदैन ।’

गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको भन्दै एक्लो दुर्गा प्रसाईंसँग राज्य हल्लिएको उनले बताए । पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकाले गणतन्त्र हल्लिएको उनले बताए ।