काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको एक पार्टी प्यालेसबाट महिलाहरूलाई निकाल्ने काममा युवा संघको संलग्नता नभएको दाबी गरेका छन् ।
उता दुर्गा प्रसाईंका समर्थकले भने एमाले कार्यकर्ताले नै आफ्नो कार्यक्रममा आएका महिलालाई दुव्र्यबहार गरी बासस्थानबाट निकाला गरेको दावी गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले एमालेलाई विभिन्न झुट्टा आरोप लगाएर बदनाम गर्ने काम भइरहेको बताए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा मंसिर ७ गते बल्खु क्षेत्रमा हुने कार्यक्रममा भाग लिन आएका महिलाहरूलाई भक्तपुरस्थित इन्द्रसान पार्टी प्यालेसबाट युवाहरूको एक समूहले मंगलबार बेलुकी निकालेका थिए । बास बसेकै ठाउँबाट महिलाहरूलाई युवा संघका कार्यकर्ताले निकालेको आरोप लाग्दै आएको छ । तर युवा संघले यो घटनामा संलग्नता नरहेको दाबी गर्दै आएको छ । महिलाहरूलाई पार्टी प्यालेसबाट निकाले भिडिओ सामाजिक सञ्जालमा देखेपछि युवासंघका नेताहरूलाई फोन गरेर यसबारे सोधेको ओलीले बताए ।
‘अहिले स्वार्थी तत्वहरू सडकमा खुलेआम छन्, हामीलाई बदनाम गराउन लागिपरेका छन्,’ ओलीले भने, ‘भिडिओ आएपछि मैले युवासंघका साथीहरूलाई फोन गरेर सोधें, उहाँहरूले पनि भिडिओ हेरेर थाहा पायौं भन्नुभएको छ, युवा संघको संलग्नता छैन भन्नुभएको छ ।’
उनले घटनामा युवा संघलाई जोडिएको बारेमा संघले थप स्पष्ट पार्ने र यस्ता अमर्यादित घटनामा जसको संलग्नता भए पनि कारबाही हुनुपर्ने बताए ।