• फाल्गुन २४ २०८२, आईतवार

शिक्षा प्रणाली जीवन उपयोगी र आत्मनिर्भर बनाउनु पर्नेमा प्रधानमन्त्रीको जोड

मंसिर ५ २०८०, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवन उपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार काठमाडौंमा एशिया अन्तराष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै दाहालले उच्च शिक्षाका निम्ति बर्सेनि लाखौँ विद्यार्थीहरू विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक देखिएको बताए ।

शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीहरूको विदेश पलायन रहेको प्रम दाहालको भनाइ छ । विद्यार्थी देश बाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्व विद्यालय खालिहुँदै जाने गम्भीर स्थितिलाई सम्बोधन गरी विदेश पलायनलाई रोक्नु ठूलो चुनौति बनेको उनको भनाइ छ ।

‘विद्यार्थी पलायनबाट देशको युवा जनशक्ति मात्रै बाहिरएको छैन, देशको ढुकुटी पनि बाहिरिँदै गएको छ । त्यसैले पनि यसलाई रोक्न छिटो भन्दा छिटो शिक्षा नीतिलाई युवाउपयोगी बनाएर नेपाली विद्यार्थीलाई यहाँका विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने छ,’ दाहालले भने, ‘विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्न सकियो भने मात्र अहिलेको स्थिति बदल्न सकिन्छ ।’

प्रधानमन्त्री दाहालले शिक्षा नीतिलाई युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशकै विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए । विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ ।