• फाल्गुन २६ २०८२, मंगलवार

नेपालका विपिन जोशी हमासको कब्जामा सुरक्षित रहेको पुष्टि

मंसिर ३ २०८०, आईतवार

काठमाडौँ । प्यालेस्टाइनको गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका नेपालका विपिन जोशी सुरक्षित रहेको पाइएको छ । गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए । इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको हो ।

परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दिपक जोशीका अनुसार उनी सुरक्षित रहेको आधिकारिक जानकारी प्राप्त भएको हो । ‘उनी सुरक्षित रहेको आधिकारिक जानकारी आएको छ । अब उद्धारको लागि सरकारले थप सक्रियता देखाएको’ उनले भने । सुरक्षित रहेका जोशीलाई छुटाउनको लागि पहल भइरहेको उनले बताए ।

उनको सकुशल उद्धारको माग गर्दै केही दिन अगाडि उनका आमा बुबाले परराष्ट्र मन्त्री साउदसँग भेट गरेका थिए । परराष्ट्र मन्त्री साउदले जोशीको सकुशल उद्धारको लागि नेपाल सरकार, नेपाली दूतावास, इजरायल सरकार लगायतका निकाय अथक प्रयासमा रहेको बताए ।

इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए । जोशीसहित कयौँलाई हमास समूहले नियन्त्रणमा लिएको थियो ।