• मंसिर १२ २०८१, बुधबार

घरेलु मैदानमा भारतलाई पराजित गर्दै अस्ट्रेलियाले जित्यो छैटौँपटक विश्वकप क्रिकेटको उपाधि

मंसिर ३ २०८०, आईतवार

नयाँ दिल्ली  । भारतमा सम्पन्न ओडीआई विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । आज भारतको अहमदावादस्थित नरेन्द्र मोदी मैदानमा घरेलु टिम भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैटौँपटक उपाधि जितेको हो ।

अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा २४१ रनकाे लक्ष्य पूरा गरेको हो । अस्ट्रलियाको जितमा ट्रेभिस हेड नायक बने । २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि हेडले १३७ रन बनाए । यस्तै मार्नस लाबुसांगेले नटआउट ५८ रन बनाए । यी दुईबीचको साझेदारीले अस्ट्रेलियालाई छैटौँपटक विश्वविजेता बनायो ।

भारतका लागि जसप्रित बुमराहले दुई विकेट लिए भने प्रतियोगितामा सर्वाधिक २४ विकेट लिएका मोहम्मद शामी र मोहम्मद सिराजले एक विकेट लिए ।  यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिएपछि भारत ५० ओभरमा २४० रन बनाउँदा अलआउट भएको थियो । टस जितेका अस्ट्रेलियाका कप्तान पाट कमिन्सले पहिला बलिङको निर्णय लिएका थिए । जुन सही सावित भयो ।

प्रतियोगितामा भारत लगातार १० खेल जितेर फाइनलमा हारेको छ भने अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हार व्यहोरेको थियो । समूह चरणमा भारतसँग हारे अस्ट्रेलियाले फाइनलमा उसलाई उसकै भूमिमा हराउँदै उपाधि उचालेको हो ।

यसअघि अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । यसअघि भारत र अस्ट्रलियाबीच २००३ मा पनि फाइनलमा भिडन्त भएको थियो । जहाँ अस्ट्रेलियाले जित हात पारेको थियो ।