काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबलकारलाई यातायातको रूपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् ।
लुम्बिनी केबलकारको भ्रमणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केबलकारलाई पर्यटनको हिसाबले मात्रै नभइ ट्रान्सपोटेसनको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए ।
उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नुभन्दा केबलकार बनाएर त्यहाँको प्रवर्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए । केबलकारहरूले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवर्धन गर्न र विद्युत् खपत बढाउने काम गरेको उनको भनाइ छ । उनले नेपालको भौगोलिक अवस्थालाई बुझेर केबलकारको संख्या अझै बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘धेरै केबलकारहरूले नेपालको आर्थिक क्रियाकलाप र पर्यटनदेखि विद्युत खपत पनि राम्रो गर्छ । नेपालको भौगोलिक अवस्था र नेपालको जियोलोजिकल अवस्था र हाम्रो हिमाल, पहाड र तराईको अवस्थालाई हेरेर धेरै केबलकार बढ्नुपर्छ । यस्तै, केबलकारहरूले हाम्रो विद्युतको खपत बढ्ने हो र यो विभिन्न ठाउँमा इकोनोमिक एक्टिभिटी बढ्छ, पर्यटकहरू बढ्छन्, रोजगारीको अवसर पनि बढ्छ । केबलकारलाई पर्यटनको हिसाबले मात्रै नभइ ट्रान्सपोटेसनको हिसाबले पनि नेपालमा केबलकारको महत्वपूर्ण भुमिका हुनेछ । नेपालमा बाटो बनाएर डाँडामा पुग्नुभन्दा पनि ठूला ठूला ट्रान्सपोटेसन केबलकारबाट गर्दा राम्रो हुन्छ । यसले विद्युत् खपतका साथै इकोनोमिमा राम्रो गर्छ । लुम्बिनी केबलकार महत्वपूर्ण छ ।’