काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसँग निरन्तर संवाद भइरहेको बताएका छन् । रूकुम पश्चिममा आइतबार पार्टीले गरेको कार्यक्रममा बोल्दै दाहालले एकताका साथ अघि बढ्ने बताए ।
‘विप्लवसँग आज बिहान मात्रै छलफल भयो, बाबुराम भट्टराईसँग पनि निरन्तर संवाद भइरहेको छ,’ उनले भने, ‘विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको छ ।’
पटक पटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराशा छाएको बताएका दाहालले माओवादी फुटेपछि ‘जनयुद्ध’मार्फत् प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकाले एकताको विकल्प नभएको बताए ।
उनले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताए । भ्रस्टाचारको अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएको प्रधानमन्त्री दाहालको भनाइ छ ।