• फाल्गुन ३० २०८२, शनिबार

नेपालले जलवायु परिवर्तन र भूराजनीतिक जटिलताको सामना गरिरहेको छ : प्र.म दाहाल

मंसिर १ २०८०, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल कोभिड महामारी, जलवायु परिवर्तन र भूराजनीतिक जटिलताको सामना गरिरहेको बताएका छन् ।

भारतले आयोजना गरेको ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’मा भर्चुअल सम्बोधन गर्नै प्रधानमन्त्री दाहालले उक्त संकटबाट खाद्यान्न, स्वास्थ्य-शिक्षा, अर्थतन्त्र, वातावरण र शान्ति-सुरक्षामा प्रभाव पारेको बताएका हुन् ।

उक्त जटिलताबाट सबैभन्दा धेरै अल्पविकसित राष्ट्रहरू प्रभावित भएको उनको भनाइ छ । ‘ग्लोबल साउथका धेरै देशहरू दिगो ऋणको बोझमा परेका छन् । जसले स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र अन्य महत्वपूणर् राष्ट्रिय प्राथमिकताका लगानीलाई दबाब दिइरहेको छ । बढ्दो खाद्यान्न समस्या र आर्थिक संकटले थप चिन्ता थपिदिएको छ,’ प्रधानमन्त्री दाहालले भने ।

विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय शान्ति, विकास र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने उनले बताए । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रियस्तरमा विश्वास कायम गर्न साझेदारी र सहकार्य प्रवर्धन र एकताका साथ काम गर्नुपर्ने बताए । ग्लोबल साउथले गरिबी उन्मूलन र स्वस्थ्य जीवन निर्वाहमा टेवा पुर्‍याउनु पर्ने उनको भनाइ छ ।

उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए । हिमालमा देखिएको जलवायु परिवर्तनले नेपालका लाखौं मानिसहरूको जीवन र जीविकोपार्जनमा गम्भीर असर पुर्‍याएको बताउँदै उनले पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।

नेपालले प्राकृतिक स्रोतहरूको संरक्षण र दिगो व्यवस्थापन, प्रभावकारी अनुकूलन र न्यूनीकरणका उपायहरू र हरियालीलाई प्रवर्द्धन गर्दै सन् २०४५ सम्ममा शून्य कार्वन उत्सर्जनमा पुग्ने लक्ष्य राखेको बताए । त्यसका लागि साझेदारहरूबाट विकास सहायता, एफडीआई, व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण र प्राविधिक सहयोग जस्ता अन्तर्राष्ट्रिय सहयोगको उनले आह्वान गरे ।

विकासोन्मुख देशहरूको उद्देश्यलाई अगाडि बढाउन अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने बताउँदै उनले सहभागी राष्ट्र प्रमुखहरूलाई ‘एउटै भविष्य’को आकार दिन सार्थक सहयोग र समन्वयको खाँचो रहेको बताए ।