• मंसिर ११ २०८१, मंगलवार

नेवारी संस्कृतिमा तान्त्रिक भाइटीका

कार्तिक २९ २०८०, बुधबार

आध्यात्मिक, प्राकृतिक र अलौकिक शक्तिको संयोजन गरेर लोक कल्याणका लागि नै तान्त्रिक शक्तिको प्रयोग हुँदै आइरहेको पाइन्छ । तन्त्र भन्ने बित्तिकै त्रसित हुनु पर्दैन । तन्त्रमन्त्रले कसैको बिगार गर्दैन बरु सत्मार्गमा लाग्न प्रेरित गर्दछ । सत्कर्म गरेर लोककल्याण गर्न प्रेरित गर्ने वैदिक तन्त्रमन्त्रले पनि हामीलाई यही शिक्षा दिँदै आइरहेका छन् । पृथ्वी शान्ति वनस्पतय शान्ति भन्दै वैदिक मन्त्रोचारण गरी विश्व शान्ति र कल्याणको पथमा अग्रसर आम्रो वैदिक तन्त्रमन्त्रको अत्यन्तै महत्वपूणर् भूमिका रही आएको छ ।

त्यस्तै नेपालको नेवारी संस्कृतिमा विभिन्न चाड, पर्व र जात्रा पनि तान्त्रिक विधि विधान अनुसार नै मनाइँदै आइरहेको पाइन्छ । यसको ज्वलन्त उदाहरण विभिन्न चाडपर्व र जात्राको अवसरमा अष्टमातृका र नवदुर्गा देवीको नाच हप्तौंसम्म रातदिन चौबिसै घण्टा नाच्न सक्नु पनि तान्त्रिक शक्तिले गर्दा नै हो भन्न सकिन्छ । तिहारको अन्तिम दिन अर्थात् पाँचौं दिन कार्तिक शुक्ल द्वितीयामा भाइटीका गरिन्छ । नेवारी संस्कृति एवं संस्कारमा तान्त्रिक विधि विधान भएकैले भाइटीकामा पनि तान्त्रिक विधि अपनाइन्छ । भाइटीकाका लागि सर्व प्रथम भूईंमा गोबरले लिपेर मण्डप बनाउनु पर्छ ।

उक्त मण्डप बनाउन पनि तान्त्रिक विधि अपनाइएको हुन्छ । जसरी महालक्ष्मीको श्रीयन्त्र भने जस्तै वज्रयान तन्त्रविधि अनुसार विभिन्न किसिमका थाङ्का बनाउँदा पनि श्रीगणेश मन्त्र, भैरव मन्त्र, काली मन्त्र आदिको मण्डप बनाइन्छ । त्यस्तै नेवारहरुले गर्ने भाइटीकामा अष्टदल भएको यन्त्र बनाई त्यसमा अष्टमातृकाको प्रतीक मण्डप तयार पारिन्छ । मण्डप लेखिने आठ वटा पात भएको कमलको फूल अंकित गरिएको हुन्छ । यी आठ ओटा पातलाई अष्टमातृका महेश्वरी, वैष्णवी, कौमारी, बाराही, इन्द्रायणी, ब्रम्हायणी, चामुण्डा र महालक्ष्मीको प्रतिकका रुपमा पूजा गरिन्छ । यो मण्डपमा पूजा गर्दा अष्टमातृकाले रक्षा गर्छिन भन्ने जन विश्वास छ ।

यसरी नै भाइटीकाको मण्डपमा प्रयोग गरिने धानले गन्ध, अक्षताले रस, फूलले शब्द, जजङका(एक प्रकारको धागो)ले स्पर्श, खेलुइता(मण्डपमा भूईंमै बाल्ने लामो मोटो बत्ति)ले रुपको प्रतिनिधित्व गर्छ । सबै भन्दा पहिला लः मन्दः भनेर पानीको मण्डपको ठूलो गोलो घेरा बनाइन्छ भने त्यसको घेरा भित्र चामलको पिठो, पहेंलो र रातो अबिरले आठ ओटा कमलको पात आकारका लेखी त्यस भित्रको गोलाइमा लाबा, त्यसपछि भट्मास, मासको गेडा, अक्षता र बीचको केन्द्रबिन्दुमा तेलको मण्डप भनि तेल राखिन्छ ।

यसरी मण्डपमा राखिने लाबालाई स्वर्गको फूल, भटमासलाई शनिश्चर, मासलाई संकटा, अक्षतालाई करुणामय र तेललाई आत्माको रुपमा लिइन्छ । यसरी बनाइएको मण्डपको शिरानीमा सर्वप्रथम गणेशको रुपमा सुकुन्दा बालेर नौ ग्रह शान्तिहोस्, कृुनै विध्नवाधा नआओस भन्ने कामना गर्दै सुकुन्दामा भएको गणेशको मूर्तिलाई पूजा गर्छन भने कुमारका रुपमा खललाई, ब्रम्हाको रुपमा कुचो भित्तामा ठड्याई, महादेवको रुपमा नाङ्लो भित्तामा अड्याइ, पवित्रताका प्रतिक कलश र देवतालाई पनि मण्डप बनाएर पूजा गर्दछन् । मण्डपको सिरानमा धर्मदूत र सबैभन्दा मुनी पुछारमा कर्मदूतका लागि पनि मण्डप बनाएर पूजा गर्दछन् ।

मण्डपको केन्द्रविन्दुमा राखिएको तेलको मन्दः नसुकेसम्म अनि दिदीले लगाई दिएको मखमली फूल नओइलाएसम्म भाईको आयु लम्बिरहोस् भन्दै दिदीले दाजुभाईहरुलाई टीका लगाई दिंँदै सुख, शान्ति, ऐश्वर्यका साथै दीर्घायुको कामना गर्छिन् । नेवारी संस्कार अनुसार दिदिले दाजुभाईहरुलाई सगुन दिन्छिन् । यो सगुन दिने परम्परा नेवारी संस्कृतिमा मात्रै रही आएको छ । यो सगुन पनि तान्त्रिक विधि अनुसार नै दिइने हो । यो सगुनमा पञ्चतत्वको समायोजन गरिएको हुन्छ । पञ्चतत्वको समायोजन गरी दिइने सगुनमा उसिनेको अण्डा(आकाश तत्व), बारा(वायुतत्व), मासुु(पृथ्वी तत्व), माछा(जल तत्व) र रक्सी(तेज तत्व) हुन ।

यस सगुनलाई पद्म पुराणमा उल्लेख गरे अनुसार ॅमत्स्य, मांस, सुरा, लैहय चौषय भषम हारकै’ भनिएको छ । तान्त्रिक विधिअनुसार दिइने यो सगुनलाई सर्वगुण सम्पन्न खाद्य भनिएको छ भने कुनै पनि शुभकार्य गर्दा यसरी सगुन दिंदा शुभ मंगल भई कुनै पनि कार्यमा सफलता मिल्नेछ भनिन्छ । महालक्ष्मीले पनि महिषासुर दैत्यको वध गर्नु अघि पञ्चमोपकारको रुपमा यही नेवारी सगुन ग्रहण गरे पश्चात मात्र महिषासुरको वध गरेकी हुन भन्ने कुरा चण्डिमा उल्लेख गरिएको छ । महिषासुरले महषिमर्दिनी महालक्ष्मीलाई जथाभावी बोल्दै गर्जिरहेको बेलामा देवीले ‘गर्ज गर्ज क्षणं मुढ मधु यावत् पिवामी’ भन्दै म अहिले रक्सीको चुस्की लिँदैछु तं जति गर्जनु पर्छ गर्जनु मैले तेरो वध गरेपछि सबै देवता गर्जिने छन भन्नु भएको छ । यसरी यो नेवारी संस्कारको सगुनको ठूलो महत्व रही आएको छ । वशिष्ठ ऋषिले पनि बाध्य भएर देवीको आराधना गर्दा यही सगुनकै प्रयोग गर्नु परेको थियो ।

पञ्चामृतलाई नै पञ्चमोपकार मानी देवीलाई चढाई देवीको दर्शन पाउँ भनि आराधना गर्दा देवी क्रोधित हुनु भयो र बशिष्ठ ऋषि श्रापित हुनु पर्‍यो । त्यही बेलादेखि ऋषिमुनी लगायत ब्राम्हणहरुले धार्मिक यज्ञ यज्ञाधि र अन्य कर्म गर्नु अघि विमुक्ता भष भनि श्रापबाट मुक्ति पाउन क्षमा प्रार्थना गर्दै आएका हुन भनिन्छ ।

एक पटकको कुरा हो । धेरै वर्ष अगाडि अर्थात् परापूर्वकालमा जुनबेला देवताले मानिसहरुसँग प्रत्यक्ष कुरा गर्दथे र मानिसहरुले पनि देवताहरुलाई प्रत्यक्ष देख्ने अवसर पाउँथे । त्यस समयमा एउटा घरमा दिदिले भाइलाई पूजा गरी टीका लगाउँदै गरिरहंदा यमराजले भाईलाई लिन आएको देखिन । यमराजले दिदी चाहीँलाई भनिन, टीका लगाउनु पर्दैन म तिम्रो भाईलाई लिन आएको । तब दिदी चाहीँले अलिकता पनि न आत्तिकन भनिन-हुन्छ यमराज हजुरले मेरा भाईलाई लाने भए लानोस तर मैले भाईलाई लगाइदिएको यो मखमली फूलको माला नओइलाएसम्म अनि मैले भाईटीका गर्न बनाएको यो मण्डपको केन्द्रविन्दुमा राखेको तेल नसुकेसम्म हजुरले लान पाउनु हुन्न भन्ने शर्त राखेपछि यमराजले पनि हुन्छ भने ।

यमराज आफू आफनै वचनमा फसेको पत्तै पाएन । मखमली फूलको माला ओइलाउँछ भनेर कुरेर बसे तर ओइलाउँदै आइलाएन, त्यस्तै भूईंमा टीका जस्तै टाँसिराखेको तेल सुक्ला भनि पर्खिरहे तेल त सुक्दै सुकेन । यस प्रकार दिदिले आफनो सुझवुझ र चलाखिले गर्दा भाई दीर्घायु बनाएकी थिइन भनिन्छ । त्यसैले अहिले सम्म पनि भाई टीकामा मखमली फूलको माला लागाई दिनुपर्छ भन्ने चलन चल्दै आएको हो ।

मैतिदेवीको जात्रा
तान्त्रिक विधि अनुसार नेवारहरुले मनाउँदै आएका विभिन्न जात्रा पर्व र चाड मध्ये तिहारमा महालक्ष्मीको विशेष रुपमा पूजा आराधना गर्छन भने देवीको जात्रा पनि गरिन्छ । तिहारको पहिलो दिन काग तिहारमा मैतिदेवीलाई गुठियारहरुले तान्त्रिक विधि अनुसार पूजा गरेर राँगोको बलि दिन्छन । र सीकाबु गरेर अर्थात् बलिको टाउकोका विभिन्न भागहरु क्रमश थकालीदेखि सबैलाई सगुन स्वरुप दिएर रक्सी खुवाउँछन् र भोज पनि खुवाउँछन् । तिहारको दोस्रो दिन माली गाउँमा रहेको देव घरबाट खट जात्रा गर्न मैतिदेवीमा ल्याउँछन् ।

गणेशको खट, महालक्ष्मी र पञ्चकुमारीको खट बोकेर ल्याउँछन् । पञ्चकुमारी र महालक्ष्मीको मूर्ति मैतिदेवीको मन्दिर भित्र थापना गरिन्छ अनि बेलुका गुठियारहरु मीलेर तान्त्रिक विधिपूर्वक ठूलो होम गरिन्छ । तेश्रो दिन लक्ष्मीपूजाका दिन मरःजा खुवाउने भन्दै बालिकाहरुलाई मात्र देवीको प्रसाद दाल, भात, तरकारी र विभिन्न परिकार खुवाउने गरिन्छ । त्यस समयमा अन्य मानिसहरुले पनि आफनो इच्छा अनुसार ती कन्याहरुलाई चक्लेट, विस्कुट लगाायत विभिन्न खानेकुरा र पैसा पनि चढाउने गरिन्छ । बेलुका मन्दिरमा रहेका मूर्तिहरुलाई खटमा राखी तीन पटक मन्दिर परिक्रमा गरेर जात्रा शुरु गर्छन । तिहारको चौथो दिन अर्थात् म्ह पूजाका दिन मुख्य जात्रा गर्ने दिन हो ।

यो दिन देवताका खटहरुलाई मैतिदेवी, डिल्लीबजार, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल घुमाउँदै माली गाउँ फार्काउँछन् । जात्रा पछि जात्रामा भाग लिने सबैलाई भात खुवाउँछन् । यस कामलाई विशेष नियममा बसि सकाइन्छ । त्यस पछि खट देवघरमै फर्काइन्छ । पाँचौं दिन अर्थात् भाईटीकाका दिन मैतिदेवी जात्राका गुठियारहरु र देवताहरुलाई म्ह पूजा गर्छन् । गुठियारहरुले भने भाई टीका छैठौं दिन अर्थात भाई टीकाको भोली पल्ट गुठियारहरु मीलेर भाईटीका पनि गर्छन् । त्यसपछि देवता र खटहरुलाई धोइ पखाली गरेपछि विधि पूर्वक पूजा गरेर गुठि घरमा थापना गरेर जात्रा सकाउँछन् । यस प्रकार तिहारमा छ दिन सम्म मैतिदेवीको खट जात्रा गरिन्छ ।