अन्टार्कटिकामा अहिले फूल फूल्न थालिसकेका छन् । ती फूल वनस्पति जगतको विकास अनुसार टुन्ड्रा प्रजातिका नभएर हाइब्रिड खालका छन् । उष्ण तथा उपोष्ण क्षेत्रमा फूल्नसक्ने फूल तर बोटका हिसाबले हिमालको तल्लो भागमा हुने झार प्रजातिका विरूवा हुनु आफैमा अनौठो देखिएको छ ।
पृथ्वीमा पछिल्लो समयमा बढ्दो वैश्विक तापमानका कारण अन्टार्कटिका अकल्पनीय रूपमा पग्लिदै जान थालेको हो । हिउँ पग्लने क्रम यति भयाबह हुन गयो कि अहिले अन्टार्कटिकाको केही भागमा त झार तथा हर्वजन्य वनस्पति बाक्लै गरी उम्रन थालिसकेका छन् ।
ग्रिनहाउस ग्यास अत्यधिक उत्सर्जन हुन जाँदा यसो भएको भनी विज्ञानले पुष्टि गरे पनि तापमान घटाउन प्रभावकारी कदम भने चालन सकिएको छैन ।
पृथ्वीको प्राकृति स्वरूप र स्वभावमाथि मानवीय क्रियाकलापका कारण कृत्रिमता आक्रामक हुन गएपछि पृथ्वी तात्ने र त्यसको फलस्वरूप उत्तरी ध्रुवको हिउँ पग्लँदै जाने प्रक्रिया सुरू भएको हो ।
बितेको एक दशकमा हिउँ पग्लने प्रक्रिया गुणात्मक हुन गएपछि हर सेकेण्ड हिमपहिरो गइरहने, हिम नदीको सङ्ख्यामा बृद्धि हुँदै जाने र समुद्रमा पानीको तह बढेर आउने प्रक्रियाले तिब्रता पाउँदै गएको छ ।
उत्पत्तिदेखि त्यहाँ रहँदै आएका हिमभालु, पेन्गुइन, सिलमाछा लयातका लाखौं प्रजातिका जीवजन्तु लोप हुने अवस्थामा पुगिसकेका छन् । उनीहरूका लागि बस्ने सदाबहार हिउँको बासस्थान अबका दिनमा रहेको छैन ।
काला र पत्थरिला पहाड, खोंच, बालुवा र कङ्कड अनि असजिला भिराला र चट्टानयुक्त भूइँ हिमप्राणीका लागि मृत्युस्थान साबित हुन पुगेका छन् ।
पेन्गुइन समुद्री पानीमा बग्दै र सिकार हुँदै गएका छन् । हिउँभालुले खानाको अभावमा सजातीय कमजोर हिउँभालुको सिकार गरेर खाइरहेका छन् । सिल माछा विरलै देखा पर्न थालेका छन् । बरू ती क्षेत्रमा अहिले विरूवा उम्रन थालेका छन् । घाँसप्रजातिका ती विरूवा फूल्न र फल्न पनि थालेका छन् ।
विरूवा उम्रने प्रक्रिया तिव्रतामा छ । यसले पृथ्वीमा संभावित दुर्घटनाको सङ्केत पनि गरिरहेको छ । अन्टार्कटिकामा पर्लवर्ट (क्लोवान्थस क्विटेन्सिस) र अन्टार्कटिक हेयरग्रास (डेस्काम्सिया अन्टार्कटिका) जातका विरूवा तिब्रतामा उम्रिइरहेका छन् ।
पर्लवर्ट एकखालको ‘फूल’ प्रजाति हो भने अन्टार्कटिका हेयरग्रास ‘घाँसे प्रजाति’को विरूवा हो । बढ्दो तापक्रमले यी विरूवाहरूलाई हिउँ पग्लिएको स्थानमा उम्रन सहयोग पुर्याइरहेको छ ।
यसलाई वैज्ञानिकहरूले ‘बोटानिकल क्लाइमेट चेन्ज’ का रूपमा अध्ययन गरिरहेका छन् । यो क्षेत्र वैज्ञानिक अध्ययनका लागि नयाँ अध्ययन र अनुसन्धानको क्षेत्र बनेर आएको छ ।
अर्को आश्चर्य के छ भने यहाँ हुर्किएका विरूवा हाइब्रिड खालका छन् । विरूवा उम्रदैमा फूल फूल्दैनन् । तर अचम्म ! अन्टार्कटिकामा उम्रिएका विरूवामा फूल फूल्न थालिसकेका छन् । यसले वैश्विक तापमान बृद्धिमा झनै सहयोग पुर्याउने देखिन्छ ।
अन्टार्कटिकामा हिमसाम्राज्यको अन्त्य र विरूवाको आगमनको कारक पृथ्वीमा रहेका मानिस र उसका क्रियाकलाप दोषी छन् । कतै अन्टार्कटिकामा फूलेका फूल पृथ्वीमा मानवलगायतका जीव वनस्पति समाप्तिका सन्देश र सङ्केत त होइनन् ?
प्रचलनका हिसाबले फूल मानिसको शुभ तथा अशुभ दुवै कार्यमा बराबर प्रयोग गरिँदै आएका छन् । फूल फूल्नु आफैमा शुभ र सौभाग्य दुवै हो । तर हिमसाम्राज्य अन्टार्कटिकामा फूल फूल्नु भनेको जीवन्त पृथ्वीका लागि शुभ सङ्केत भने होइन ।