काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिकटक बन्द गर्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेका छन्।
टिकटकमाथिको प्रतिबन्धले सरकारको लोकतान्त्रिक आस्था र प्रतिबद्धतामाथि नै गम्भीर प्रश्न उठ्न सक्ने उनको भनाइ छ। नेपालमा सामाजिक सञ्जालको दूरुपयोग बढेको भए पनि त्यसलाई कानुन बनाएर नियमन गर्नुपर्नेमा बन्द नै गर्नु ठीक नभएको उनले बताएका छन्।
‘नेपालमा पनि केही समयदेखि सामाजिक सञ्जाललाई कतिपय प्रतिगामी,अराजक,उच्छृंखल व्यक्ति/समूहले दुरूपयोग गरेकै हुन्। राज्यले उपयुक्त कानूनरनियम बनाएर तिनलाई नियमन गर्ने र व्यापक जनमत निर्माण गर्ने काम पहिले गर्नुपर्दथ्यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,’परन्तु सरकारले एक्कासी एउटा प्लेटफर्म टिकटकलाई मात्र प्रतिबन्ध लगाउनु कुनै पनि हिसाबले उपयुक्त देखिन्न।’
उनले भनेका छन्,’यसले सरकारको लोकतान्त्रिक आस्था र प्रतिबद्धतामाथि नै गम्भीर प्रश्न उठाउन सक्छ र प्रत्युत्पादक हुनसक्छ। सरकारले तुरून्त यो गल्ती सच्याओस् र सामाजिक सञ्जालको दुरूपयोग गर्ने प्रतिगामी र असामाजिक तत्वहरूलाई निरूत्साहित गर्ने वैकल्पिक लोकतान्त्रिक विधि अपनाओस्।’