• मंसिर ११ २०८१, मंगलवार

नेवारी संस्कृतिमा म्ह पूजा (आत्मपूजा)

कार्तिक २८ २०८०, मंगलवार

आदिमकालदेखि नेपालका आदिवासी नेवारहरुले आफ्नो मौलिक संस्कार र संस्कृति अनुरुप मनाउँदै आएका विभिन्न चाडपर्व मध्ये एउटा नितान्त अनौठो तर वास्तविकतामा आधारित धार्मिक र मौलिक मर्म बोकेको पर्व हो म्ह पूजा अर्थात् आत्म पूजा । नेवारहरुले यो मौलिक चाड स्वन्ति (तिहार)को चौथो दिन अर्थात कार्तिक शुक्ल प्रतिपदाका दिन म्ह पूजा र नयाँ बर्ष मनाउने गर्दछन् ।

म्ह पूजा अर्थात् आत्म पूजा गर्ने भनेर यो दिन आफ्नै शरीरलाई पूजा गर्छन् । शरीर भन्नाले हामीले थाहापाई आएको कुरा हो कि पञ्चतत्वको संयोजन । पृत्वी, जल, वायु, तेज, र आकाश पञ्चतत्व नै हाम्रो शरीरको अस्तित्व हो । जस्तै घर बनाउँदा काठ, ईंटा, माटो, सिमेन्ट, पानी नभई हुँदैन । त्यसरी नै हाम्रो शरीर बन्न पनि पञ्चतत्व नभई हुन्न ।

यसरी पञ्चतत्वको संयोजन भएको हाम्रो शरीरको जीवनमा बर्षेनि आइपर्ने विभिन्न बाधाहरु, आपतविपत, दुःख, सुख एवं विभिन्न रोग र घटनाबाट मुक्त भएर सफलतापूर्वक जीवन चलाउन अवसर मिलोस भनेर आत्मपूजा अर्थात् देह पूजा गरिंदै आएको हो भन्ने मान्यता छ । तिहार चाड मनाउने सन्दर्भमा नेवारहरुले कार्तिक शुक्ल प्रतिपदाका दिन शरीर पूजा गर्ने गर्दछन् । शरीर पूजाका लागि भुईंमा लेखिएको मण्डपले हाम्रो शरीरको ज्ञान दिइरहेको पाइन्छ ।

आध्यात्मिक ज्ञाताहरुका भनाई अनुसार हाम्रो शरीर स्थुल देह, सुक्ष्म देह र कारण देहको संयुक्त स्वरुप हो । स्थुल देहमा पृथ्वी, जल, वायु र आकाश पञ्च महाभूत छन् । त्यसरी नै पञ्च ज्ञानेन्द्रिय कान, नाक, छाला, आँखा, जिब्रो छन् । त्यसरी नै पञ्च कर्मेन्द्रियमा वाक् (मुख), पाणि (हात), पाद (खुट्टा), उपस्थ (लिङ्ग), गुद (चाक) छन । त्यसरी नै शब्द, स्पर्श, रुप, रस, गन्धलाई पञ्च तन्मात्रा भनिन्छ ।

अनि मन, बुद्धि, अहंकार, मूल, प्रकृतिलाई प्राकृतिक तत्वका रुपमा व्याख्या गरिएको छ । सूक्ष्म देहमा माया, कला, काल, राग, नियति पुरुष अविद्या हुन्छ । कारण देहमा भने शिव शक्ति पुरुष, स्त्री, सदाशिव, ईश्वर, शुद्ध विद्याको पञ्चतत्व संयुक्त रुपमा रहेको हुन्छ । म्ह पूजा गर्दा लेखिने मण्डपमा आठ ओटा पात भएको कमलको फूल अंकित गरी राखेको हुन्छ । यसको अर्थ हो-अष्ट ऐश्वर्य ।

कमलको फूलको यी आठ ओटा पातलाई अष्ट चिरञ्जिवीको प्रतीकका रुपमा पनि लिने गरिन्छ । त्यसैले यी आठ ओटा पातको अत्यन्तै ठूलो महत्व छ । यी आठ ओटा पातलाई माहेश्वरी(महादेवको शक्ति), बैष्णवी(विष्णुको शक्ति), कौमारी(स्कन्द कुमारको शक्ति), बाराही(बराह अवतारको शक्ति), इन्द्रयणी(इन्द्रको शक्ति), ब्राम्ही(ब्रम्हाको शक्ति), चामुण्डा(भगवतीको शक्ति) र महालक्ष्मी अष्टमातृकाको प्रतीकका रुपमा पनि मानिंदै आएको छ । यसरी लेखिएको मण्डपमा पूजा गर्दा अष्टमातृकाले रक्षा गर्छन् भन्ने जन विश्वास रही आएको छ ।

यसरी नै म्ह पूजाको मण्डपमा प्रयोग गरिने धानले गन्ध, अक्षताले रस, फूलले शब्द, जजङका(एक प्रकारको धागो)ले स्पर्श, खेलुइताः(मण्डपमा बालिने लामो मोटो बत्ती)ले रुपको प्रतिनिधित्व गर्छ । यसो भएकोले नै भुईंमा लेखिने मण्डपको भूमिलाई धर्म स्कन्दले जीवित प्राणीका रुपमा लिइएको हो । हाम्रो देह बन्नलाई पनि जीव र जगतको मण्डप मिलेको हुनुपर्छ भन्ने मण्डप शास्त्रले किटान साथ बताइ राखेको छ ।

हाम्रो देह पनि एक किसिमले मण्डप नै भएकोले नेपाल सम्वत् फेरिने कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले आफनो देह आफैंले पूजा गरेर म्ह पूजा गर्ने परम्परा चलाएका हुन । नेवारी संस्कृतिमा नितान्त मौलिकताले भरिएको म्ह पूजाको दिन नेवारहरुले आफ्नो देहलाई देवता संझेर म्ह पूजा गर्दा आफनो शरीरमा नराम्रा खराव नकारात्मक तत्व भित्रिन नसकोस, दिन दशा राम्रोहोस, कसैसँग पनि ऋण लिन नपरोस, दिनदिनै गरेका काममा सफलता मिलोस, सु-स्वास्थ्य एवं दीर्घायु होस भनि विभिन्न किसिमका आशिर्वाद थापेर सगुन लिएर फूल, टीका लगाएर म्ह पूजा गर्दछन् ।

नेवारहरुको सगुनमा अत्यन्त महत्वपूणर् कुरा लुकेको पाइन्छ । सगुन सर्वगुण सम्पन्न खाद्य पदार्थ हो । पञ्च महाभूतले बनेको हाम्रो शरीरको पाँच ओटै तत्व बलिया होउन, शरीर स्वस्थ्य भैरहोस भनेर दिइने सगुनमा ठूलो महत्व रहेको छ । यसरी सगुनमा दिइने उसिनेको अण्डा(आकाश तत्व), बारा(बायुतत्व), मासु(पृत्वी तत्व), माछा(जलतत्व) र रक्सी(तेज तत्व) हुन् । यसरी पञ्च तत्वको रुपमा दिइने सगुन नेवार संस्कारमा मात्र छ । यसलाई पद्म पुराणमा यसरी वणर्न गरिएको पाइन्छ-‘मत्स्य, मांस, सुरा, लैह्य, चौषय भक्षय हारकै’ ।

घर परिवारका सबैलाई र पास्नी गरिसकेका बच्चाहरुलाई पनि समान रुपमा म्ह पूजा गर्ने नेवारी संस्कार छ । म्ह पूजा गर्न पूर्वतर्फ फर्काएर मण्डप लेखिन्छ । सबै भन्दा पहिला पानीले मण्डप लेखेर पानी मण्डप भित्र चामलको पिठो र अबीरले आठ ओटा पात कमलको फूल आकार आउने गरी लेखेर यसमा भित्र सवभन्दा छेउको घेरामा लाबा त्यसभित्र भटमास, मासको गेडा, अक्षता र बीचको केन्द्रविन्दुमा तेलको मण्डप लेखिन्छ अर्थात तेल टाँसिदिन्छ ।

यसरी मण्डपमा राखिने लाबालाई स्वर्गको फूल, भटमासलाई शनिश्चर, मासलाई संकटा, अक्षतालाई करुणामय र तेललाई आत्माका रुपमा लिइन्छ । यसरी लेखिएको मण्डपलाई आफ्नो देह सम्झेर तान्त्रिकविधि अनुसार शक्ति साधना गरेर म्ह पूजा गरिने हो । परिवारका सबै सदश्यलाई पुग्ने गरी मण्डप लेखेर सबैभन्दा माथि गणेशको रुपमा सुकुन्दा, कुमारका रुपमा खल, ब्रम्हाको रुपमा कुचो भित्तामा ठड्याइन्छ । महादेवको रुपमा नाङ्लो भित्तामा अड्याइ पवित्रताका प्रतीक कलश र देवतालाई पनि मण्डप बनाएर पूजा गरिन्छ । मण्डपको सिरानमा धर्मदूत र तल सवैभन्दा मुनि कर्मदूतका लागि पनि मण्डप बनाएर पूजा गरिन्छ ।

मण्डपका अगाडी क्रमैसँग परिवारका मुली थकाली देखि सबैजना बसिसकेपछि घरमुली महिलाले हातमा कोतः(विशेष प्रकारको परम्परागत पूजा थाली) लिएर सवैलाई पालैपालो पूजा गरेर रातो अक्षताको टीका लगाई दिन्छिन । त्यसपछि एक पाथी अट्ने सिंफल(परम्परागत पाथी) मा कोटर राखेका फलफूलका टुक्रा, अक्षता, फूल, टीका, गोलो सुपारी र चानचुन पैसा सिक्काहरु राखेर पालैपालो एक-एक जनालाई टाउकोमा तीन-तीन पटक खनाएर अभिषेक गरिदिन्छिन् ।

मुलीले नै सबैलाई मण्डप अगाडी राखिराखेका बिमिरा, ओखर, कटुस, सुन्तला, भोगटे, केरा, स्याउ, हलुवावेद, अम्बा, नास्पाती, अमला, सत्बयर, फलफूल, रोटी र मसला पोका साथै राखेर मखमली फूलको माला र कोखा(धागोको माला) भएको थाली हातमा थमाउँछ । यसरी मुलीले दिएको थाली लिएर ढोगेपछि त्यसमा भएको कोखा र माला मुलीले लगाई दिन्छिन ।

मण्डपमा खेलुइताः बालेर झलमल पारेर मण्डपको अगाडी लस्करै बसेका परिवारका सबै सदश्यलाई सगुन दिने मुलीले दाहिने हातमा उसिनेको अण्डा, तारेको माछा र देब्रेहातमा रक्सीले भरिएको प्याला राखेर सगुन दिन्छिन् । अण्डाको सगुन दिनु अघि दहीको सगुन दिने क्रममा दहीको कतारो देखाई त्यसमा भएको अलिकति दही बुढी औंलामा टाँसेर पुरुषको दाहिने कन्चटमा र स्त्रीको देब्रे कन्चटमा दहीको टीका लगाई दिन्छिन् ।

यसरी सगुन दिइसकेपछि भोजको भाग पस्केर सवैलाई भोज खुवाउने गरिन्छ । यो दिन राष्ट्रिय विभूति शंखधर सास्वाःले ११४० वर्ष अघि देशका जनतालाई ऋणबाट मुक्त पारेर चलाएको नेपाल सम्वत् फेरिन्छ । नयाँ वर्ष लागेको उपलक्ष्यमा देशभर र बाहिर विदेशमा पनि नेवार र नेपाली समुदायले नयाँ बर्षको शुभकामना ‘न्हूदँया भिंतुना’ भन्दै हर्षोल्लासका साथ विभिन्न कार्यक्रम गरी मनाइन्छ ।