काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितलाई राहतमा ढिलाइ भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भूकम्पीडितलाई समयमा नै राहत उपलब्ध नभएको गुनासो आएको उल्लेख गरे । उनले राहत र पुनःस्थापनाका निम्ति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
भविष्यमा विपदबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न सरकारले समयमै आवश्यक पूर्वतयारी गर्नुपर्ने उनले बताए । राजतन्त्रको मुद्दा थोत्रो भइसकेको र यसको कुनै अर्थ नहुने उनको भनाइ छ । जनताले फ्याँकेका एजेन्डा ताजा बन्न नसक्ने उनको धारणा छ ।
ती एजेन्डाका आधारमा आन्दोलन गर्न खोज्नुले भने गम्भीर प्रश्न उठाएको उनले बताए । अहिले देशलाई हाँक्ने शक्ति मुलुकको ज्वलन्त समस्या समाधान गर्न गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।