• मंसिर १५ २०८१, शनिबार

रेशम चौधरीको कैद मिनाहाविरुद्ध परेको रिटमा आज अन्तिम सुनुवाइ हुने

कार्तिक २३ २०८०, बिहीबार

काठमाडौँ । टीकापुर घटनामा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज अन्तिम सुनुवाइ हुने भएको छ ।

सरकारको सिफारिसमा आममाफी दिइएपछि सो घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुन लागेको हो ।

कडायतले राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन माग गर्दै गत जेठ १६ गते सर्वोच्चमा रिट दिएकी थिइन् ।

मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीको जन्मकैदको सजाय मिनाहा गरिएको थियो ।

सर्वोच्चले चौधरीलाई कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्ने तल्लो तहका अदालतको फैसला सदर गरेको थियो । तर उक्त फैसलाको पूर्णपाठ नआउँदै कैद मिनाहा गरिएको थियो ।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी बरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जना मारिएका थिए । आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार चौधरी रहेको सर्वोच्चले ठहर गरेको थियो ।