काठमाडौं । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निट्युडको भूकम्प ठुलो धनजनको क्षति पु¥याएपछि धेरै मानिसको ध्यान तानेको छ । भूकम्पविद्हरूले पश्चिम नेपालको क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको पटकपटक चेतावनी दिए पनि राज्यले भने त्यसतर्फ ध्यान दिन सकेको छैन ।
शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोट र रुकुमपश्चिममा १ सय ५७ जनाको ज्यान जानुको साथै झन्डै २ सय बढी घाइते भएका छन् । सरकारले उद्धार र राहतको काम सुरु गरेको छ तर अब आउने सक्ने विपत्तिबारे भने सोचेको पाइँदैन ।
पश्चिम नेपालमा करिब ५ सय वर्षदेखि ठुलो भूकम्प नगएकाले भूकम्पीय जोखिम भनेर विज्ञले औंल्याउँदै आएका थिए । तर, शुक्रबार गएको भूकम्पले एकपटक राज्यको ध्यान केन्द्रित भएको छ । ५ सय वर्षयता भूकम्पीय शक्ति सञ्चित भइरहेको वैज्ञानिकको अध्ययनले ८ म्याग्निट्युड् वा सोभन्दा ठुलो भूकम्प जान सक्ने भएकाले पूर्वसावधानीमा जोड दिएका थिए । शनिबारसम्म सो भूकम्पको पराकम्प ४०० वटाभन्दा बढी गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका सिनिअर डिभिजनल सिस्मोलोजिस्ट लोकविजय अधिकारीका अनुसार तथ्यांक हेर्दा पनि पछिल्लो समयमा पश्चिम नेपालमा बढी भूकम्प गइरहेको छ । विगत केही समयदेखि दैनिक रूपमा भूकम्पको पराकम्प गइरहनुले पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहेको देखिन्छ । तर, यही भूकम्पपछि अर्को ठुलो भूकम्प नआउला भन्न सकिन्न । अहिले गइरहेका साना तथा मझौला भूकम्प गइरहेकाले पनि भूकम्पको जोखिम अझै बाँकी छ भन्न सकिने विज्ञहरू बताउँछन् ।
सन् २०१५ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्युडको भूकम्प गएको थियो जसमा ९ हजारभन्दा बढीको ज्यान गएको थियो । त्यसपछिको तीन वर्षमा नेपालमा ४० हजारभन्दा बढी भूकम्पका पराकम्प गए । केही साताअघि मात्रै धादिङ केन्द्रबिन्दु भएर गएको ५.२ म्याग्निट्युडको भूकम्पलाई पनि भूकम्पविद्ले २०७२ सालको ठुलो भूकम्पको पराकम्पका रूपमा लिँदै आएका थिए । त्यस्तै, नेपालमा गत महिना मात्रै बझाङमा गएको ६.३ म्याग्निट्युडको भूकम्पका कारण कम्तीमा १२ जना घाइते भएका थिए । त्यसयता पनि भूकम्पको पराकम्प गइरहेका छन् । विज्ञका अनुसार अहिले पनि नेपालमा २ म्याग्निट्युडभन्दा कमका भूकम्प दैनिक १० देखि १५ वटासम्म जाने गरेको छ ।
नेपालमा ठुलो भूकम्पको शृंखला कहिलेदेखि जान थाले ?
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसर विक्रम संवत् १९९० पछि नेपालको पूर्वी क्षेत्रमा ठुलो भूकम्प गएको छैन । पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएर विक्रम संवत् १२५५ मा ८ म्याग्निट्युडभन्दा बढीको भूकम्प गएको थियो ।
विक्रम संवत् १२५५ को भूकम्पमा राजा अभय मल्लको मृत्यु भएको मानिन्छ । सो महाभूकम्पले त्यतिखेरको नेपालको एकतिहाइ भाग ध्वस्त भएको ठानिन्छ । विज्ञहरूका अनुसार लामो समय भूकम्प नजाँदा जति ठुलो अन्तरालमा भूकम्प गयो त्यति ठूलो शक्तिशाली भूकम्प आउने जोखिम बढी हुन्छ । पश्चिम नेपालमा सन् १५०५ पछि ठुलो भूकम्प गएको नै छैन । मध्य नेपालमा भने १ सय देखि १ सय ५० वर्षको अन्तरालमा शक्तिशाली भूकम्प गइरहेको छ । पछिल्लो समय नेपालमा विक्रम संवत १९९० मा ठुलो भूकम्प गएपछि २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गयो । त्यसभन्दा पहिला १४०० सयमा र १६०० सालमा ठुलो भूकम्प गएको तथ्यांक छ ।