• मंसिर १२ २०८१, बुधबार

डियाचको इमोस्नल गोलमा लिभरपुलको बराबरी

कार्तिक २० २०८०, सोमबार

काठमाडौं । कोलम्बियन फरवार्ड लुइस डियाचको गोलमा लिभरपुल हारबाट जोगिएको छ। ८३औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डियाचले ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गरेपछि लिभरपुलले लुटन टाउनसँको हार टार्‍यो।

प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा ८०औं मिनेटमा गोल गर्दै लुटनले अग्रता लिएको थियो। लुटनका लागि काबोरेको पासमा कोङले गोल गरेका थिए।

९५औं मिनेटमा इलिट्टोको पासमा डियाचले गोल गरेर हारको मुखमा पुगेको लिभरपुललाई बराबरीमा ल्याएका थिए। उक्त गोल डियाचले अपहरणमा परेका आफ्ना बाबुलाई समर्पित गरे। गोलपछि आफ्ना बाबुलाई रिहा गर्न जर्सी भित्रको गन्जीमा उल्लेख गरिएको ‘फ्रिडम फर पापा’ सन्देश डियाचले देखाएका थिए।

अक्टोबर २८ मा नेसनल लिबरेशन आर्मी (इएलएन) का वामपन्थी छापामारहरूले डियाचका आमाबाबुलाई अपहरण गरेका थिए।