• मंसिर १५ २०८१, शनिबार

परराष्ट्र मन्त्री विवादित एमसीसी लागू गर्ने प्रतिबद्दता गरेर अमेरिकाबाट फर्किए

कार्तिक १९ २०८०, आईतवार

काठमाडौं । अमेरिकाको औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री एनपी साउद स्वदेश फर्किएका छन् । अमेरिकी समकक्षी एन्टोनी ब्लिङ्कनको निमन्त्रणामा अमेरिका गएका साउद आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

अमेरिकामा रहँदा उनले अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी ब्लिङ्कनसँग वासिङ्टन डीसीमा भेटवार्ता गरेका थिए । भेटका क्रममा अमेरिकी समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएको, मुलुकको आर्थिक विकासका लागि छलफल भएको उनले जानकारी दिए । त्यस्तै, एमसीसी कार्यान्वयनमा दुवै टोलीले जोड दिएको उनको भनाइ छ ।

साउद नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरूका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष रहेका थिए ।